आगलागीबाट करिब २५ लाखको क्षति

उद्योगका कर्मचारीका अनुसार करिब २५ लाख रुपैयाँको सामान क्षतिग्रस्त भएपछि हेटौँडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो।

श्रावण १६, २०८२

प्रताप विष्ट

Damage caused by fire is about 2.5 million

हेटौँडा — हेटौँडा उपमहानगरपालिका–१६ हटियास्थित शिवम् सिमेन्ट उद्योगको कर्मचारी आवासीय क्षेत्रमा आगलागी हुँदा करिब २५ लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको छ ।

बिहीबार राति विद्युत् सर्ट भएर आगलागी भएको थियो । आगलागीबाट माइक्रो ओभन १ थान, १.५ टनका एसी ३ थान, फ्रिज १ थान, किचन चिम्नी १ थान, फिल्टर १ थान, सोफा सेट ३ थान, ग्राइन्डर १ थान, ह्विलचेयर १ थान, टेलिभिजन १० थान, स्टिल दराज १ थान, डाइनिङ सेट १ थान, पङ्खा १ थान, ग्यास सिलिन्डर १ थान, फायर सिलिन्डर १५ थान, कार्पेट लगायत स्टोरमा रहेका अन्य सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

उद्योगका कर्मचारीका अनुसार आगलागीबाट करिब २५ लाख रुपैयाँ मूल्य बराबरको सामान जलेर नष्ट भएको हो । आगलागीपछि हेटौँडा उपमहानगरपालिकाको दमकल, सिमेन्ट उद्योगका कर्मचारी र प्रहरीले राति नै आगो नियन्त्रणमा लिएका थिए ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully