प्रदेश प्रमुख देवकोटाको स्वास्थ्यमा समस्या देखिएपछि बिहीबारका लागि तय भएको तीन मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम स्थगन गरिएको छ ।
हेटौंडा — बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा स्वास्थ्य उपचारका निम्ति ग्रान्डी अस्पताल धापासी काठमाडौंमा बिहीबार भर्ना भएका छन् ।
एक्कासि स्वास्थ्यमा खराबी आएपछि बिहीबार बिहानै काठमाडौं गएका प्रदेश प्रमुख देवकोटा स्वास्थ्य परीक्षण गराउन ग्रान्डी अस्पताल पुगेका थिए ।
चिकित्सकहरूले अस्पतालमा भर्ना भएर उपचार गर्नु पर्ने बताएको प्रदेश प्रमुख कार्यालय हेटौंडाका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिए ।
प्रदेश प्रमुख देवकोटाको स्वास्थ्यमा अचानक समस्या आएपछि सरकारका नवनियुक्त तीन मन्त्रीहरूको बिहीबारका लागि तय गरिएको शपथ ग्रहण कार्यक्रम स्थगन गरिएको थियो ।
