मानव बेचबिखनमा चितवन ‘साइलेन्ट ट्राफिकिङ कोरिडोर’ बन्ने खतरा 

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले गत आर्थिक वर्षमा मानव बेचबिखनमा देशभर १५१ मुद्दा दायर भएको बताए ।

श्रावण १४, २०८२

रमेशकुमार पौडेल

Chitwan is in danger of becoming a 'silent trafficking corridor' in human trafficking

What you should know

चितवन — भित्रभित्रै अपराध धेरै नै हुने तर कारबाहीको दायरामा आएर सजाय नहुने परिपाटी बसेका कारण चितवन मानव बेचबिखनका लागि निकै नै जोखिमपूर्ण जिल्लाको रूपमा चिनिने खतरा बढेको बुधबार भरतपुरमा आयोजित कार्यक्रममा चर्चा चल्यो । प्रहरी महानिरीक्षक (आईजिपी) दीपक थापाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा यस्तो गम्भीर विषय उठेको हो । 

चितवनमा प्रभावकारी अनुसन्धान संयन्त्रको विकास, पीडितको गोपनीयता सुरक्षित राखी उजुरी प्रक्रिया सहज बनाउने, स्थानीय तहमार्फत निगरानी संयन्त्र स्थापना गर्ने र प्रमाण संकलन प्रविधिमा सुधार ल्याउनु पर्ने आवश्यकता रहेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता मदन थापाले बताए । ‘नभए चितवन जस्तो जिल्ला साइलेन्ट ट्राफिकिङ कोरिडोर बन्ने छ,’ उनले चेतावनी दिए । 

यौनजन्य हिंसाविरुद्धको साझा अभियान नामक चितवनको संस्थाले आयोजना गरेको मानव बेचबिखन विरुद्धको अन्तर्क्रिया कार्यक्रममा अधिवक्ता थापाले चितवनमा यस्ता अपराधविरुद्ध साह्रै न्यून उजुरी पर्ने गरेको बताए । मानव बेचबिखनमा चितवन प्रहरीमा गत तीन आर्थिक वर्षमा आर्थिक वर्ष ०७९/८० मा सात, ०८०/८१ मा एक र ०८१/८२ मा तीन वटा मात्रै मुद्दा दर्ता भएको हुँदा अवस्था नाजुक देखिएको उनले बताए ।

मानव अधिकार आयोगकै प्रतिवेदनमा चितवनमा दोहरी रेष्टुरेष्ट, क्याफेहरू, मसाज पार्लर, डान्स बार जस्ता मनोरञ्जन क्षेत्रमा महिलाको यौन शोषण र श्रम शोषणको माध्यमबाट मानव बेचबिखनको गन्तव्य जिल्लाका रूपमा विकसित भइरहेको प्रतिवेदन आएका कारण सबै चनाखो रहनु पर्ने बताए । ‘मानव बेचबिखन नियन्त्रण भनेर अब सीमामा मात्रै निगरानी गरेर पुग्ने अवस्था रहेन,’ थापाले भने ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले गत आर्थिक वर्षमा मानव बेचबिखनमा देशभर १५१ मुद्दा दायर भएको बताए । मानव बेचबिखनको तरिका फेरिँदै गएका कारणले प्रहरी र समुदाय सजग र सचेत रहनुपर्ने उनले बताए । ‘अपराधीहरू निकै चलाख बन्न थालिसकेको हुँदा प्रहरीले पनि अनुसन्धान पद्धतिलाई त्यही अनुसार परिष्कृत गर्दै ल्याएको छ,’ एसपी कुँवरले भने ।

कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक दीपक थापाले अहिले पढे लेखेका युवायुवती, किशोर किशोरी नै बेचबिखनको जोखिममा पर्न लागेको बताए । ‘बेचबिखनको नयाँ नयाँ तरिका आएको छ । भिजिट भिसा, म्यारिज ब्युरो, डेटिङ एप, किशोरीहरूको डिम्ब निकाल्ने जस्ता बेचबिखनका नयाँ शैली आएका छन् । नेपाल प्रहरी यी शैलीविरुद्ध पनि कडा रूपमा लागेको छ,’ महानिरीक्षक थापाले भने ।

यौनजन्य हिंसा विरुद्धको साझा अभियानका संयोजक मिना खरेलले अपराधको शैली बदलिएसँगै समाज र प्रहरीलाई पनि त्यही अनुरूप तयार गर्नुपर्ने आवश्यकता बढेर गएको धारणा राखिन् । सहसंयोजक संगीता भट्टराईले नयाँ समय परिवेश र अपराधको प्रकृति अनुसारको कानुन निर्माण गरेर बेचबिखनविरुद्ध कडा कदम नचाले नागरिक, समाज र देश सबैको अहित हुने र अन्तर्राष्ट्रिय छवि बिग्रने बताइन् । 

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully