रामेछापको मन्थली नगरपालिका–८ स्थित चिसापानीको द्वारे टोलका आधाभन्दा बढीमा मानिस छैनन्, घरहरु खण्डहर बनेका छन् ।
What you should know
रामेछाप — सडक, बिजुली पुगेको छ । विद्यालयका भव्य पक्की भवन छन् । हेर्दा लाग्छ, ग्रामीण बस्तीमा विकासका आधारभूत पूर्वाधारको कमी छैन । तर, भित्र छिर्दा देखिन्छ विकासको खोल ओढेको खण्डहर बस्ती । रामेछापको मन्थली नगरपालिका–८ स्थित चिसापानीको द्वारे टोल, जहाँ एक दशक अघिसम्म धेरै मानिसको बसोबास थियो । झिसमिसेदेखि अबेर रातिसम्म चहलपहल, हाँसो र जीवन देखिन्थ्यो ।
अचेल यो गाउँ सुनसान छ । २५ घरमध्ये आधाभन्दा बढीमा मानिस छैनन् । केही घर त पूरै खण्डहर बनेका छन् ।
‘यो गाउँमा मानिसको ठूलो चहलपहल हुन्थ्यो,’ स्थानीय ४० वर्षीय केशरी श्रेष्ठ भन्छिन्, ‘बिहानैदेखि बच्चाहरूको हाँसो, गाईवस्तु धपाउने आवाज, बेलुकी छरछिमेकी आँगनको डिलमा बसेर बात मार्ने संस्कार सबै हराए ।’
गाउँमा विकास पुगे पनि राम्रो शिक्षा र जागिरका लागि स्थानीयले गाउँ छाडेको उनको भनाइ छ । अहिले २५ घरभन्दा बढी रहेको यो गाउँका आधा बढी घरमा एक जना पनि नरहेको उनले बताइन् । मान्छे भएका घरमा पनि वृद्ध अवस्थाका बाआमा मात्रै रहेको उनले सुनाइन् ।
उमेरले ४० काट्न लागेका मन्थली नगरपालिका–८ सिन्की डाँडाका राजकुमार श्रेष्ठ पनि विगत सम्झन्छन्, ‘१० वर्षअघि यो बस्ती गुञ्जायमान थियो । बालबच्चाको उच्च शिक्षाका लागि सहर केन्द्रित हुने, रोजगारीका लागि सहर हुँदै विदेश पलायन हुँदा अहिले हाम्रा गाउँ बस्ती मान्छेविहीन बने ।’
मन्थली–८ चिसापानीको जस्तै हालत रामेछापका कयौँ बस्तीको छ । सहरको आकर्षण, रोजगारको खोजी र गुणस्तरीय शिक्षाको अभावले गाउँबाट मान्छे गुमिरहेका छन् । सहर छिरेका मान्छे फर्किएनन्, गाउँ घरमा रहेका वृद्धवृद्धा पनि बाँझो बारी, सुनसान पाटा र बाँदरको आतंकसँग एक्लै जुधिरहेका छन् ।
‘गाउँमा खेती गर्न सक्ने हात छैन, दुःखले लगाएको बाली पनि बाँदरले खान दिन्न,’ मन्थली–८ जाले पहरकाका ६० वर्षीय नन्दबहादुर आछामी भन्छन्, ‘गाउँमा बसेर बाँच्ने आधार नै छैन अब ।’ गाउँमा बसोबास गरिरहेका वृद्धवृद्धा पनि अब सहर झर्न थालेको उनले बताए ।
मन्थली–८ चिसापानीका वडाध्यक्ष एवं नगर प्रवक्ता गोपाल श्रेष्ठ गाउँमा विकासका पूर्वाधार पुगे पनि रोजगारी र शिक्षाको समस्या सम्बोधन हुन नसकेकाले गाउँबाट पलायन भइरहेको बताउँछन् । गाउँका मानिसको सामुदायिक विद्यालयप्रतिको विश्वास घट्दै जानु र निजी विद्यालयप्रति विश्वास बढ्दै जानु गाउँ खाली हुनुको मुख्य कारण देखिएको उनको अनुभव छ ।
विशेषगरी गुणस्तरीय शिक्षा, प्रभावकारी स्वास्थ्य सेवाको अभाव र रोजगारीका कारण गाउँमा मानिसहरू बस्न छाडेका उनले बताए ।
