हेटौंडा — मकवानपुरको इन्द्रसरोवरबाट सशस्त्र प्रहरी बलको टोलीले शनिबार राति लागु औषधसहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
हेटौंडा–भीमफेदी–कुलेखानी सडक हुँदै हेटौंडाबाट काठमाडौंतर्फ गइरहेको बीआर ०५ पीए ९०९३ नम्बरको भारतीय स्कारपियो गाडीलाई शंका लागेर सशस्त्र प्रहरी बलको टोलीले रोकी चेक गर्दा नोफिन २ हजार ४ सय थान, डायजेपाम २ हजार ४ थान, प्रोमेथाजिन हाइड्रोक्लोराइड २ हजार ४ सय थान र ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ५ थान सहित ४ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो।
भारतबाट हेटौंडा हुँदै काठमाडौंतर्फ जाँदै गरेको स्कारपियोमा ३ वटा फल्स बटम बनाई लुकाएर ल्याइएको ती लागुऔषधसहित भारत घर बताउने ४३ वर्षीय शेख सपुर, १९ वर्षीय निसाव आलम, २५ वर्षीय ओसिम अहमद र २४ वर्षीय शेख गजुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ हेबीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको लागुऔषध, स्कारपियो र पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय भीमफेदीलाई बुझाइएको छ।
