‘बाँदरले बाली सखाप बनाउँछ, मकै जति बाँदरलाई हुन्छ, ढोड हामीलाई, त्यै भएर कलिलैमा भाँचेको’
What you should know
दोलखा — चर्को घाममा नजिकै भीरको खरमा छाता ओढेर चनाखो भएर बसेकी छन् रस्मिता सुवेदी । चारैतिर हरियाली छ । मौसम खुलेको छ । तर उनको अनुहारमा भने डर छ– कतैबाट बारीमा बाँदर छिर्छ कि भन्ने ।
भीमेश्वर नगरपालिका–७ की रस्मिता स्नाकोत्तर अध्ययन गरिरहेकी छन् । तर उनी १० दिनदेखि बारीमा बाँदर पसेर लगाएको बाली सखाप पार्छ भनेर यही भीरमा हेरालु बसेकी छन् । अभिभावकले दुःख गरेर लगाएको बाली जोगाउन दिनभर यतै आएर बस्ने गरेको उनी बताउँछिन् । सयौंको संख्यामा आउने बाँदरले मिनेटभरमै बाली सखाप पार्ने गरेको उनले बताइन् ।
‘यो भीरको चौरमा दिनभरि बस्ने हो, बाँदर आएपछि चारैतिर फोन गरेर गाउँले बोलाउँछु,’ उनले भनिन्, ‘महिला, केटाकेटीलाई तर बाँदरले घेरेर कुटपिट गर्छ, त्यै भएर फोन गरेर बोलाउँछु ।’ बाँदरले केही दिनअघि गाउँकी एक दिदीलाई चिथोरेर घाइते बनाएको उनले बताइन् । ‘पहिला पहिला तर धपाउँदा बाँदर भाग्थ्यो । अहिले त हामी माथिनै जाइलाग्छ, हुलै आयो भने भाग्नुपर्छ,’ उनले भनिन्, ‘एक मिनेटमै बारीमा उपर्दो मचाउँछ, वर्षभरिको बाली सखाप पार्छ ।’
उमेरले ७५ वर्ष लागेकी सोही गाउँकी रिता सुवेदी बाँदर आउने डरले कलिलैमा मकै भाँच्न लागेकी भेटिइन् । भदौमा मकै भाँच्ने गरेकी उनले बाँदरको डरले खान पाइँदैन भनेर हरियामै भाँच्न लागेको बताइन् ।
‘बुढेसकालमा यसो जेततेन गरेर खानका लागि मकै छर्यो, तर खान पाइँदैन,’ उनले बताइन्, ‘बाँदरले बाली सखाप बनाउँछ, मकै जति बाँदरलाई हुन्छ, ढोड हामीलाई, त्यै भएर कलिलैमा भाँचेको ।’ बाँदरबाट घरमै भएको अन्न जोगाउन पनि मुस्किल भएको उनले बताइन् ।
‘बारीमा मात्र होइन घरमै आएर बाँदरले उपर्दो मचाउँछ,’ उनले सुनाइन्, ‘अस्ती घरमै हुल बाँदर पसेर अन्नपात लगेर बारीमा खानुजति खाए, अरु त्यै फालेर गए, यति बिघ्न गरेको अहिलेसम्म थाहा थिएन ।’ बाँदरको डरले गाउँ नै छाडुनुपर्ला जस्तो भइकेको उनले बताइन् ।
बाँदरको आतंकले भीमेश्वर–७ का किसानले खेतीपाती छाडेर जग्गा बाँझो राख्न थालेका छन् । बाँदरले उपर्दो मच्चाएर मकै सखाप बनाएको हेर्दै बारीको डिलमा टोलाएर एकोहोर भएर बसेका भेटिए ७८ वर्षीय भोजबहादुर ।
बाँदरको दुःख दिएपछि मकै छर्न छाडेका उनले थोरै जमिनमा यो वर्ष मकै छरेका थिए । तर त्यो पनि सुत्ला पस्ने बित्तिकै बाँदरले सखाप बनाएपछि खेतीपाती नगर्ने सोचमा पुगिसकेको उनले बताए । ‘घरवरपरका बारीमा बाँदरले उपर्दो गरेर गएको वर्षबाट खेती नै छाडिदिए,’ उनले भने, 'यो वर्ष अलि माथि थोरै बारीमा मकै छरेको त्यो पनि घोघा लागेपछि सबै बाँदरले सक्यो, अब खेतीपाती गर्दिनँ ।’
खेती लगाएर बाँदरलाई मात्रै हुने भएकाले भएको जग्गा जमिन बाँझो राख्नुपर्ने बाध्यतामा पुगेको उनले दु:खेसो गरे । ‘हिउँदमा सकिनसकी खेती लगायो पेट पाल्नका लागि, त्यो पनि खान पाइँदैन,’ उनले भने, 'आफूले खान नपाउने खेतीपाती किन गनुपर्यो ? पेट कसरी पाल्ने भनेर चिन्ताले खाएको छ ।’
भीमेश्वर–७ का अधिकांश किसान सरकारले बाँदर नियन्त्रण गर्ने कुनै योजना नल्याएको गुनासो गर्छन् । किसानलाई खेतबारी बाँझो राख्न बाध्य पारेको स्थानीयको आरोप छ । सरकारले बाँदरले क्षति गरेको अन्नबालीको क्षतिपूर्ति दिने नीति ल्याए पनि किसानलाई भने पत्तो छैन । बाँदरले गरेको अन्नबालीको क्षतिपूर्ति लिन पनि निकै झन्झट रहेको छ ।
बाँदरको उपर्दोले किसान मात्रै होइन वडाध्यक्ष पनि हैरान छन् । हरेक दिन वडाको भिन्नाभिन्नै टोलमा पुगेर बाँदरले गरेको क्षति हेर्दै फर्कने गरेको वडाध्यक्ष विनोद तामाङले बताए । ‘किसान धुरुधुरु रोएर फोन गर्छन् आउन पर्यो भनेर, गएर हर्यो आफ्नै आँखा रसाउँछ,’ उनले भने, ‘स्थानीय सरकारले किसानलाई प्रविधिसँग जोडर आधुनिक खेतीपाती अघि बढाइरहेका छौं, तर अन्नबाली भने बाँदरले सक्छ ।’
केही दिनअघि प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारीमार्फत बाँदर नियन्त्रणको कानुन बनाइदिन आग्रह गरेर पत्र बुझाएको उनले बताए । ‘स्थानीय सरकारले बाँदर नियन्त्रण गर्ने कानुन बनाउन सक्दैन, जनताको रोईकराई हामीकहाँ आउँछ,’ उनले भने, ‘हामी माथि बिलौना गर्छौं सुनुवाइ हुँदैन, धमाधम किसानले खेतबारी बाँझो छोड्न थालेको टुलुटुलु हेर्नुभन्दा केही विकल्प भएन ।’ बाँदरले घरमै पसेर उपर्दो मचाएको उनले बताए । ‘हुलका हुल बाँदर घरमै पस्न थालेका छन्,’ उनले भने, ‘मान्छेलाई कुटपिट र टोकेर घाइते बनाइदिने गरेको छ, यस्तै भए गाउँ रित्तिन्छ ।’ बाँदरले गरेको नोक्सानीको क्षतिपूर्ति पनि लिन निकै कठिन भएको उनले बताए ।
