What you should know
काठमाडौँ — चन्द्रागिरि नगरपालिका–५ भुजिङडोलमा एउटै ढुंगामा १०८ वटा शिवलिंग र १०८ वटै नागसहितको मूर्ति कुँदिएको छ ।
सोही ढुंगामा विश्राम गरिरहेका महादेव पनि निर्माण गरिएको छ । महादेवको शिरमा सातमुखे नागले सुरक्षा दिइरहेको आकृति निक्कै सुन्दर बनाइएको छ । छेवैमा साँढे र यज्ञ कुण्ड निर्माण गरिएको छ । यहाँ हालै विश्रामेश्वर महादेवको मूर्ति स्थापना गरिएको हो ।
'गाउँमै धार्मिक आयाम थपिएको छ,' विश्वविश्रामेश्वर १०९ शिवलिंग विश्वधाम मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष श्यामलाल श्रेष्ठले भने, 'कतिपयले यो सबै मूर्ति एउटै ढुंगामा होइन होला, जोडेको होला भनेर शंका गर्छन् तर होइन, म आफैँले धादिङको जुङ्गे खोलाबाट ल्याएको एउटै ढुंगामा मूर्तिकारले यो मूर्ति कुँदेका हुन् ।'
सात तहमा बनाइएको शिवलिंगको हरेक तहमा १०८ वटा नाग बनाइएको छ । अध्यक्ष श्रेष्ठले बुबा धनलाल र आमा न्हुच्छेमायाको चाहनाबाट निजी प्रयासमा यो मूर्ति बनाएको र यहाँ मन्दिर निर्माण जारी रहेको बताए ।
हाल यहाँ शिवपुराण ज्ञान महायज्ञ सञ्चालन भइरहेको छ । महायज्ञका संयोजक ध्रुवकुमार घिमिरेले गोसाइँकुण्डमा विश्राम गरिरहेका महादेवलाई यहाँ स्थापना गरिएको बताए ।
महायज्ञ सुरु भएपछि यहाँ चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले सो मन्दिरको अवलोकन गरी सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
