हेटौंडा — उद्योगको सामान चोरी गरेर फरार रहेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडा औद्योगिक क्षेत्रमा रहेको रबर उद्योग प्रालिबाट मेसिनरी औजार र सेन्सरसमेत चोरी गरी फरार रहेको आरोपमा उद्योगका प्लान्ट ईन्चार्ज रुपन्देही सिद्धार्थनगर-१३ का ४९ वर्षीय पुष्पारंजन दत्तलाई पक्राउ गरिएको हो ।
गत जेठ २७ गते चोरी गरेर फरार रहेका दत्तलाई जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा भरतपुरबाट बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए । थप अनुसन्धानसहित कानुनी कारबाही गर्न दत्तलाई जिल्ला प्रहरी कार्यालय हेटौंडा ल्याइएको छ ।
बाल्टिन र ग्यालिन उत्पादन गर्ने उद्योगबाट दत्तले करिब २२ लाख मूल्य पर्ने मेसिनरी औजार र सेन्सर चोरी गरेर फरार भएका थिए । दत्त उद्योगका स्टोर किपर पनि हुन् । दत्तलाई चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा मकवानपुर जिल्ला अदालत हेटौंडाबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
