हेटौंडामा गाँजासहित किशोर पक्राउ

श्रावण ९, २०८२

प्रताप विष्ट

A teenager arrested with marijuana in Hetaunda

हेटौंडा — मकवानपुर प्रहरीले गाँजासहित एक किशोरलाई पक्राउ गरेको छ । सुनसरी ईनरुवा नगरपालिका- ७ घर भई हाल विराटनगर महानगरपालिका- ६ बस्दै आएका १८ वर्षीय आशनारायण चौधरीलाई ५ केजी गाँजासहित हेटौंडामा प्रहरीले पक्राउ गरेको हो । 

पूर्व-पश्चिम सडक खण्डअन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित चेकपोष्टका प्रहरीले नारायणगढबाट विराटनगरतर्फ जाँदै गरेको प्र.१–०१–००१ ख ३६७३ को यात्रुबाहक बसलाई रोकेर जाँच गर्ने क्रममा चौधरीको साथबाट ५ केजी गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए । 

पक्राउ परेका चौधरीलाई लागुऔषध कसुर मुद्दा चलाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आव २०८१/०८२ मा मकवानपुरमा प्रहरीले ६ हजार ४ केजी गाँजा बरामद गर्नुको साथै २ सय ८९ जनालाई लागुऔषध मुद्दामा पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा १७ जना विदेशी रहेका छन् । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully