What you should know
काभ्रे — वर्षाको समय, कतिबेला ठूलै पानी पर्छ र बाटैमा रोकिनुपर्ने हो । हिँड्दै गर्दा कुन विपद्ले भेट्ने हो भन्ने चिन्ताले विद्यार्थी र शिक्षक दुवैलाई पिरोलिरहन्छ । यो चिन्ता अहिले काभ्रेको बेथानचोक गाउँपालिकाका अधिकांश विद्यालयका विद्यार्थी र शिक्षक–शिक्षिका हुने गरेको छ ।
सोही चिन्ता पढ्न हिँडेका बालबालिकाका अभिभावकलाई पनि छ । स्कुल गएका बच्चा घर नफर्किँदासम्म अभिभावकलले चैनको श्वास फेर्दैनन् । गत वर्षको असोजको दोस्रो सातामा आएको बाढी र पहिरोका कारण केहीले घरबार, अन्नपात, लत्ता–कपडा गुमाएका छन् भने केहीले आफ्नो परिवारका सदस्य नै गुमाए । सबथोक गुमाएको पीडा उनीहरुको मानसपटलमा अझै ताजै नै छ ।
‘ठूलै पानी पर्यो भने कसरी स्कुल जाने ? कसरी घर फर्कने भन्ने चिन्ता हुन्छ,’ बेथानचोक गाउँपालिका वडा नं ६ स्थित श्री सरस्वती माध्यमिक विद्यालयकी प्रधानाध्यापक शोभा तामाङले भनिन्, ‘पोहोर सालको बाढी र पहिरोले ठूलो क्षति गरेको छ, भौतिक मात्र नभएर मानविय क्षति नै भएको छ, जुन घाउ अझै निको हुन सकेको छैन, पानी ठूलो पर्यो भने त्यस्तै विपद्जन्य घटना हुने पो हो कि भन्ने चिन्ता हुन्छ, आफू र विद्यार्थीहरुलाई कसरी सुरक्षित घर पुग्ने भन्ने अहिले प्रमुख चुनौती छ ।’
उनका अनुसार विपद्पछि विद्यालयमा विद्यार्थीको संख्या पनि घटेको छ । विपद् अघिसम्म उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीको संख्या रहेकोमा ३५० र विपद्पछि ३२० भएको उनले जानकारी दिइन् । यस विद्यालयमा अध्ययनत १५ जना विद्यार्थीहरुलाई विपद्ले विस्थापित गराएको प्राधानाध्यापक तामाङले बताइन् ।
‘खानाको लागि गाँस र बस्ने बास नभएपछि बाध्यताले नै उनीहरुलाई विस्थापित गरायो,’ उनले भनिन्, ‘विपद्पश्चात विद्यार्थीहरुलाई विद्यालयमा फर्काउन निकै कठिन भएको थियो, विद्यालय आउनै नमान्ने, बाढी र पहिरोले क्षत/विक्षत बनाएको बाटो हुँदै आउनुपर्ने, डाँडा/काँडा लडेका दृश्यहरुले उनीहरुमा डर/त्रास देखिएको थियो ।’
उनका अनुसार, विद्यार्थीहरुमा एकोहोरो हुने, आत्तिने, डराउने, खुलस्त रुपमा बोल्न नसक्ने जस्ता समस्याहरु देखिएको थियो । परिवारका सदस्य गुमाएका र घरबार गुमाएका केही विद्यार्थीहरुमा अझै पनि उस्तै समस्या रहेको उनले बताइन् । उनका अनुसार, दुई घण्टाको बाटो हिँडेर आउनुपर्ने बाध्यता छ ।
‘बाटोमा आउने गर्दा गत वर्षको जस्तै बाढी/पहिरोको समस्या झेल्नुपर्ने पो हो कि भन्ने उनीहरुमा चिन्ता हुन्छ,’ उनले भनिन्, ‘विद्यालय आउने बाटोमा पुल पनि छैन, खोला तरेर आउनुपर्छ, ठूलो पानी पर्दा त खोला तर्न पनि गाह्रो हुन्छ ।’ यहीँ समस्या विद्यार्थीलाई मात्र नभएर शिक्षक–शिक्षिका तथा अभिभावकलाई पनि हुने गरेको उनले बताइन् ।
विपद्को त्रासदीले विद्यालय उमेरका ३ वर्षदेखि क्यापस तहमा अध्ययनरत विद्यार्थीहरुमा मनोसामाजिक असर देखिएको पार्वती बहुमुखी क्याम्पसका प्रमुख राजेश तिमिल्सनाले बताए । विपद्को त्रासले विद्यार्थीहरुलाई शैक्षिक संस्थामा फर्काउन निकै समस्या भएको उनको भनाइ थियो ।
‘बाढी/पहिरो जस्ता विपद्जन्य घटनाले पुर्याएको क्षतिले उनीहरुको मानसपटलमा गहिरो घाउ बनायो,’ उनले भने, ‘जसकारण उनीहरु सक्रिय भएर पढाई रुचि देखाएनन्, साना उमेर समूहका विद्यार्थीहमा डर/त्रास देखियो भने किशोर/किशोरी उमेर तथा युवा उमेर समूहका विद्यार्थीहरुमा भने सामाजिक तथा आर्थिक रुपमा आफू कमजोर भएको जस्तो उनीहरुले महशुस गरेको पायौं ।’
विपद्ले बालबालिकाको बालमनोस्थितिमा पारेको मनोसामाजिक असरलाई मध्यनजर गर्दै त्यसलाई न्यूनीकरण गर्न मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गरिएको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । उनका अनुसार, बाढी/पहिरो जस्ता घटनाले पालिकाभर भएको ठूलो क्षतिले बालबालिकाहरुमा डर/त्रास छाएको, यसले उनीहरुको मस्तिष्कमा समेत प्रभाव परेको देखिन्छ ।
जसले गर्दा उनीहरुको पढाईमा पनि असर पर्ने जोखिमलाई मध्यनजर गर्दै विभिन्न संघ/संस्थाहरुको सहकार्यमा मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो । बेथानचोक गाउँपालिकाको वडा नं २, ३ , ४ र ५ का १८ वटा विद्यालयका शिक्षक–शिक्षिकाहरुलाई मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गरिएको हो ।
ग्रामीण विकास संस्था काभ्रेको आयोजनामा बि एण्ड बि न्यूरो सेन्टर र बेथानचोक गाउँपालिकाको सहकार्य र एइन लक्जेर्म्बगको आर्थिक सहयोगमा बेथानचोक गाउँपालिकाको १८ वटा विद्यालयका ४० जना शिक्षक शिक्षकाहरुलाई मनोसामाजिक परामर्श गरिएको हो ।
विपद्पछि त्यहाँ गरिएको अध्ययन तथा अनुसन्धानले त्यस ठाउँका बालबालिकाहरुमा मनोसामाजिक परामर्शको आवश्यकता देखिएकाले बेथनाचोक गाउँपालिकाको सहकार्यमा दुई चरणमा १८ वटा विद्यालयका ४० जना शिक्षक–शिक्षिकाहरुलाई मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गरिएको ग्रामीण विकास संस्था काभ्रेका सचिव बलराम तिमल्सिनाले बताए ।
उनका अनुसार, विपद्अघि गरिएको अध्ययनमा पनि यस क्षेत्रको बालबालिकामा मनोसामाजिक असर परेको देखिएको थियो । नैरासत्यता, आत्महत्या जस्ता समस्याहरु देखिएको उनले बताए । त्यसको न्यूनीकरण गर्न पनि यस कार्यक्रमको आयोजना गरिएको हो ।
‘यस कार्यक्रममा १८ वटा विद्यालयका शिक्षक–शिक्षिकाहरु सहभागी हुनुहुन्छ,’ उनले भने, ‘यहाँबाट परामर्श लिएर जानुभएका शिक्षक–शिक्षिकाहरुले विद्यालयमा आफ्ना विद्यार्थीहरुलाई मनोसामाजिक परामर्श दिनुहुनेछ, विद्यालयमा परामर्शको कार्यक्रम सञ्चालन गरे/नगरेको बारेमा पालिकासँग समन्वय गरी त्यसको अनुगमन तथा परमार्शको प्रभावकारीताको बारेमा पनि अनुगमन गरिनेछ ।’
विपद्पछि बालबालिका डर, चिन्ता, पिर, उदासिन्ता जस्ता समस्याहरु देखिएको मनोविद अन्जु लक्ष्मी महर्जनले बताइन् । उनका अनुसार, यसले उनीहरुमा पोष्ट ट्रम्याटिक स्ट्रेस डिस्अर्डर देखिन सक्छ । ‘यसमा बारेमा धेरै अभिभावकहरुलाई जानकारी हुँदैन, त्यस्तै शिक्षक–शिक्षिकाहलाई यस बारेमा खासै जानकारी छैन,’ उनले भनिन्, ‘यसमा विभिन्न लक्षणहरु हुन्छन्, हेर्दा सामान्य जस्तो लाग्छ, हामी सबैलाई भइरहेकै त हो नि जस्तो लाग्छ, तर व्यक्ति पिच्छे भने फरक हुन्छ, यसले गर्दा विकराल रुप पनि लिइरहेको छ ।’
विशेष गरेर बालबालिकाले धेरै समय विद्यालयमा बिताउने हुँदा उनीहरुको बानी/व्यवहार, स्वभावमा आएको परिवर्तन बारेमा शिक्षक–शिक्षिकाहरुलाई धेरै थाहा हुन्छ,’ उनले भनिन्, ‘उनीहरुमा देखिएको परिवर्तन बारेमा शिक्षिक–शिक्षिकाहरुले ध्यान दिनुपर्ने हुन्छ, उनीहरुलाई परामर्शको आवश्यकता पनि पर्न सक्छ, त्यसका कारण पनि यसको महत्व बुझेर शिक्षक–शिक्षिकाहरुलाई प्रदान गरिएको छ ।’
यहाँ परामर्श लिएका शिक्षक–शिक्षिकाहरुले विद्यालयका विद्यार्थीहरुलाई परामर्श दिएमा मात्रै यस कार्यक्रमको लक्ष्य प्राप्ति हुने उनले बताइन् । विपद्का कारण आफ्नो परिवारका सदस्य गुमाउनु परेको, घरबार गुमाउनुपरेको पीडा, सामाजिक एवं आर्थिक रुपमा कमजोर बन्दै जाँदा मानसिक स्वास्थ्य समबन्धी विभिन्न समस्याहरु देखिन सक्ने उनको भनाइ थियो ।
उनका अनुसार, जसमध्येको एक आत्महत्या एक हो । असोजको दोस्रो सातापछिको ९ महिनाको समय अवधिमा बेथानचोक गाउँपालिकामा ६ जनाले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाको तथ्याङकमा उल्लेख छ । कार्यालयको तथ्याङक अनुसार, ३ जना पुरुष, २ जना महिला र १ जना बालक गरी ६ जनाले आत्महत्या गरेका छन् ।
