चितवनमा गाउँ नजिक देखा परेको बाघ नियन्त्रणमा लिइयो

श्रावण ६, २०८२

रमेशकुमार पौडेल

A tiger that appeared near a village in Chitwan was captured

What you should know

चितवन — गाउँ आडमा देखा परेको बाघलाई मंगलबार दिउँसो नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा आइतबार गाउँ नजिक झाडीमा बाघ देखिएको थियो ।

साँझ पख देखा परेको बाघलाई मंगलबार दिउँसो साढे चार बजेतिर नियन्त्रणमा लिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रवीन्द्र खनालले बताए । 

निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषको सौराहा कार्यालयसहितको टोलीले बाघ नियन्त्रणमा लिएको हो । चितवन निकञ्ज आडमा सो गाउँ रहेको छ । चितवन निकुञ्जमा देशभरमै सबैभन्दा धेरै बाघ पाइन्छ  । 

निकुञ्जबाट प्राप्त विवरण अनुसार गत आर्थिक वर्षमा दुईवटा बाघलाई उद्धार गरिएको थियो । त्यसैगरी दुई बाघ मरेको भेटिएको चितवन निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनाश थापा मगरले जानकारी दिए । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully