चितवन निकुञ्ज घुम्‍ने घटे, गत वर्ष आए २ लाख ३१ हजार पर्यटक

श्रावण ५, २०८२

रमेशकुमार पौडेल

The number of visitors to Chitwan Park decreased, last year 231,000 tourists came

What you should know

चितवन — अघिल्लो वर्ष वन्यजन्तु अवलोकनका लागि देशको पहिलो गन्तव्य चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या ३ लाख नाघिसकेको थियो । तर गत आर्थिक वर्षमा चितवन निकुञ्ज घुम्ने पर्यटकको संख्यामा उल्लेख्य कमी आएको छ ।

निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार आर्थिक वर्ष ०८१/८२ मा २ लाख ३१ हजार ३२९ पर्यटकले चितवन निकुञ्ज घुमेका छन् ।

त्यसअघि ०८०/८१ मा चितवन निकुञ्ज घुम्न सर्वाधिक ३ लाख ६ हजार ८३७ पर्यटक आएका थिए । गत आर्थिक वर्षमा निकुञ्ज घुम्ने स्वदेशी, विदेशी र सार्क क्षेत्रका गरी सबै खाले पर्यटकको संख्यामा कमी आएको छ । आर्थिक वर्ष ०७९/८० यता गत आर्थिक वर्षमा निकुञ्ज घुम्ने पर्यटकको संख्या सबैभन्दा कम छ ।

गत वर्षको वर्षा, सडक दुर्घटना र राजमार्गको अवस्थाको असर पर्यटनमा परेको अनुमान छ । ‘बर्खायाममा चितवनको सिमलतालमा दुई वटा बस त्रिशूलीमा खसे । तनहुँ आँबुखैरेनीनजिक ऐना पहरामा भारतीय पर्यटक बोकेको बस मर्स्याङ्दीमा खस्यो । काठमाडौंनजिक पनि पहिरोमा गाडीहरु पुरिएका थिए । यी घटना दुर्घटनाको असर परेको हुन सक्छ,’ निकुञ्जका सूचना अधिकारी थापा मगरको आकलन छ ।

गत आर्थिक वर्षमा १ लाख १७ हजार २०६ स्वदेशी, सार्क देशका २४ हजार ८ सय र विदेशी ८९ हजार ३२३ जनाले चितवन निकुञ्ज घुमेका थिए ।

कुनैबेला निकुञ्ज घुम्ने पर्यटकमा विदेशीको संख्या अत्यधिक हुन्थ्यो । ०७२ सालको भूकम्पअघि १ लाख २७ हजारभन्दा बढी विदेशी पर्यटकले निकुञ्ज घुमेका थिए । भूकम्पपछि घटेको विदेशी पर्यटकको संख्या अझै पुग्न सकेको छैन ।

०७५/७६ मा विदेशी पर्यटकको संख्या १ लाख १७ हजार नाघेको थियो । तर कोरोनापछि स्वदेशी विदेशी पर्यटकको संख्या घट्दै गएको हो । कोरोना साम्य हुँदै गएपछि स्वदेशी पर्यटकको संख्यामा उल्लेख्य सुधार देखिएको चितवन निकुञ्जको तथ्यांकले देखाउँछ । ०७९/८० मा निकुञ्ज घुम्ने स्वदेशी पर्यटकको संख्या २ लाख ५ हजार ६०५ पुगेको थियो । बाटोको असुविधा पनि पर्यटक घट्नुको कारण बनेको छ ।

चितवनलाई राजधानी काठमाडौंसँग जोड्ने राजमार्ग पुनर्निर्माणको क्रममा छ । नारायणगढ–बुटबल सडकको उस्तै बेहाल छ । अहिले सहज भएपनि पोखरालाई चितवनसँग जोड्ने पृथ्वीराजमार्ग अघिल्लो वर्ष निर्माणका कारण असहज अवस्थामा थियो । काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थल पनि मर्मतका कारण राति बन्द हुने गरेको थियो ।

गत वर्षको साउन र भदौमा क्रमशः कुल ७ हजार ३०९ र ७ हजार ४५० पर्यटकले चितवन निकुञ्ज घुमेका थिए । यो वर्षको असारमा पनि ८ हजार २१६ जना मात्रै चितवन घुम्न आएका छन् । सामान्य समयमा निकुञ्ज घुम्ने पर्यटकको संख्या महिनामा १० हजार नाघ्ने गरेको निकुञ्जको तथ्यांक छ ।

देशको पहिलो निकुञ्ज चितवनमा दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा, पाटे बाघ, घडियाल गोहीलगायत जीव जनावर पाइन्छन् । तालिम प्राप्त पथ प्रदर्शक (नेचर गाइड) साथमा लिएर पैदल जंगल डुल्ने, जीप चढेर सफारी गर्ने र निकुञ्ज छेउका मध्यवर्ती सामुदायिक वनहरुमा हात्ती सफारी र नदी तथा खोलामा ढुंगा सफारी गर्दै जनावर हेर्न पर्यटक यहाँ आउँछन् । स्थानीय आदिवासी थारु, दराई, बोटे समुदायको संस्कार संस्कृति पनि पर्यटकले रुचाउँछन् ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully