सिन्धुपाल्चोक — जिल्लाभरका स्थानीय तहले समयमै आगामी आर्थिक वर्षको योजना प्रस्तुत गरिसकेका बेला सुनकोशी गाउँपालिकाले बल्ल गाउँसभा सम्पन्न गरेको छ ।
गणपुरक संख्या नपुगेका कारण पटक–पटक स्थगित हुँदै आएको छैटौँ गाउँसभा मंगलबार सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष टपिन्द्र तिमिल्सिनाका अनुसार सबैको सहमति र छलफलका आधारमा गाउँसभा असार २९ गते बोलाइएको थियो । 'तर निश्चित मितिमा नभए पनि आज सम्पन्न भएको छ,' उनले भने ।
अन्ततः उक्त मितिमा गाउँसभा बस्न सफल हुँदै गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५५ करोड ५८ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । यसअघि तीन नगरपालिकासहित आठ गाउँपालिकाले समयमै गाउँसभा सम्पन्न गरी कार्यक्रम र बजेट पारित गरिसकेका थिए । तर, सुनकोशीमा गणपुरक संख्या अभावकै कारण छैटौँ गाउँसभा ढिलो भएको हो ।
स्थानीय तहको वर्षे कार्यक्रम र बजेट निर्माणमा ढिलाइ हुँदा विकास योजनाहरु प्रभावित हुने भन्दै नागरिकस्तरबाट चासो प्रकट हुँदै आएको छ । अब भने सुनकोशी गाउँपालिकाले स्वीकृत बजेटअनुसार योजना कार्यान्वयनमा अघि बढाउने जनाएको छ ।
