दोलखा — दोलखाको विगु गाउँपालिका-१ हुरहुरेमा पहिरोमा परी १ जनाको मृत्यु भएको छ । पहिरोमा परेर २ जना गम्भीर घाइते भएका छन् । बुधबार दिउँसो सानिमा हाईड्रो जाने सडक सर्भे गर्ने क्रममा माथिबाट झरेको पहिरोमा परेर नुवाकोट विदुर नगरपालिका-४ का २९ वर्षीय सुनिल न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोमा परी गम्भीर घाइते भएका न्यौपानेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते रामेछाप लिखु तामाकोसी गाउँपालिका-४ का विशाल बुढाथोकी र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ का सन्दिप चौलागाईं गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरू तीनै जना सानिमा हाईड्रोको कर्मचारी रहेको प्रहरीले जनाएको छ ।
पहिरोबाट उद्धार गरिएका उनीहरूलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं लगिएको हो । चीनसँग सिमा जोडिएको लप्ची नजिकै सानिमाले जलविद्युत् निर्माण गरिरहेको छ ।
