बीपी राजमार्गका विभिन्न सडकखण्ड अवरुद्ध

असार ३१, २०८२

ज्योती श्रेष्ठ

Various sections of BP highway blocked

काभ्रे — वर्षाका कारण बीपी राजमार्गका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् ।

सोमबार राति ८ बजेको समयमा काभ्रेको रोशी गाउँपालिका-११ माम्ती खोलामा सडकमाथिबाट आएको भेलले सडक कटान गरेको छ । अहिले बाटो दुई तर्फी अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

त्यस्तै, सोमबार राति ११ः३० बजे रोशी-९ स्थित पिन्थली सडकखण्डमा खहरे खोलाको लेदो आई बाटो दुईतर्फी अवरुद्ध भएको कार्यालयका प्रमुख सुनिल धाँजुले जानकारी दिए । उनका अनुसार सोमबार राति नै बिरुवाडाँडामा खहरेखोलाको लेदो आई बाटो अवरुद्ध भएको छ । 

ट्राफिक प्रहरी, प्रहरी, सडक विभागको सहयोग र सहकार्यमा राजमार्गका विभिन्न स्थानमा अवरुद्ध सडकलाई खुलाउने प्रयास भइरहेको उनले बताए । सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully