मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु, तीन घाइते

असार २८, २०८२

प्रताप विष्ट

A young man died in a motorcycle accident, three were injured

हेटौंडा — मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित पुलचोक बेलुवामा शनिबार भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

दुर्घटनामा परी घाइते भएका मनहरी गाउँपालिका–७ बिजौनाका २४ वर्षीय विशाल चेपाङको उपचारका क्रममा भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा घाइते भएका तीन जना युवकहरूको मनहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पूर्व–पश्चिम राजमार्गमा मनहरीबाट हेटौंडातर्फ गइरहेको ना ३७ प ७६९० नम्बरको मोटरसाइकल र सोही दिशाबाट गइरहेको प्रदेश ३–०३–००१ प ४४३४ नम्बरको अर्को मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा ना ३७ प ७६९० नम्बरको मोटरसाइकल चालक राक्सिराङ–३ केराबारीका १८ वर्षीय दीपक दोङ, पछाडि सवार २४ वर्षीय पिटर तामाङ तथा प्रदेश ३–०३–००१ प ४४३४ नम्बरको मोटरसाइकल चालक मनहरी–६ बिजौनाका २४ वर्षीय निरज राना घाइते भएका छन्।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully