घाँस काट्न गएका पदमबहादुरको बाघ आक्रमणमा मृत्यु

असार २७, २०८२

रमेशकुमार पौडेल

Padam Bahadur, who went to cut grass, died in a tiger attack

चितवन — चितवनको सामुदायिक वनमा घाँस काट्न गएका एक वृद्धको बाघको आक्रमणमा परेर मृत्यु भएको छ। खैरहनी नगरपालिका–१३ गवै गाउँका ६८ वर्षीय पदमबहादुर राना मगरको शुक्रबार बिहान बाघको आक्रमणबाट मृत्यु भएको हो।

पदमबहादुरसहित तीन जना बिहान ७ बजे कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका थिए। अरू फर्किए पनि उनी नआएपछि दिउँसो १ बजेबाट खोजी सुरु गरिएको थियो।

उनको शव दिउँसो पौने ३ बजे जंगलभित्र बाघले आक्रमण गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रवीन्द्र खनालले जानकारी दिए।

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको कुमरोज वन क्षेत्रमा अघिल्ला वर्षहरूमा पनि बाघको आक्रमणमा परी स्थानीयको ज्यान जाने घटना भएका थिए।

निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार यस वर्ष चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जंगली जनावरको आक्रमणमा परी हालसम्म १३ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन्।

चितवन निकुञ्जको मध्यवर्ती क्षेत्र चितवनसहित नवलपरासी (बर्दघाट सुस्ता पूर्व), मकवानपुर र पर्सा गरी चार जिल्लाका गाउँ बस्तीहरू समेटिएको छ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully