सिन्धुली — शौचालयमा लडेर गम्भीर घाइते भएका छोरालाई बचाइदिन याचना गर्दै दुई नाती साथमा लिएर सिन्धुलीको कमलामाई नगरपालिका-४ ढुंग्रेवासकी विमला दर्जी दैनिक भौंतारिरहेकी छिन् । १५ दिनअघि २९ वर्षीय छोरा सुविरन नेपाली शौचालयमा लडेर गम्भीर घाइते भएका थिए ।
सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि उनलाई धुलिखेल अस्पताल लगिएको थियो । त्यहाँबाट पनि उनलाई काठमाडौं सिनामंगलस्थित केएमसी पुर्याइयो । अहिले केमएसीको आईसीयूमा उनको उपचार भइरहेको छ । छोरा नेपालीलाई मुख र टाउकोमा चोट भएको विमलाले बताइन् ।
जसोतसो जीवन चलाउँदै आएकी विमलाले दुई नातीलाई पनि पालिरहेकी छिन् । कोठा भाडामा लिएर बस्दै आएको विमलाको परिवारलाई छोरा गम्भीर घाइते भएपछि बज्रपात परेको छ । 'बिरामी कुरुवाका रूपमा काठमाडौं भदा गगन नेपाली पैसा पठाइदिनू भनेर दिनहुँ फोन गर्छन्,' उनले भनिन्, 'जायजेथा केही छैन, हारगुहार गर्दा दयाले दिएको दुई चार सय पठाइदिने गरेको छु, अन्य केही उपाय छैन ।'
भदाले नजानेर केएमसी पुर्याएकाले उपचार खर्च धान्न नसकेको उनको भनाइ छ । ऋण खोजेर १० हजार दिएर पठाएकोमा अस्पताललाई तिर्न नै अहिले नै डेढ लाखमाथिको बिल भयो भनेर भदाले सुनाएको विमलाले बताइन् । 'राम्रो उपचार पाए छोरो बाँच्थ्यो कि,' उनले भनिन् ।
भान्जालाइ बचाउन विमलाका दाजु चन्द्रबहादुर नेपाली पनि सँगसँगै हारगुहार गरिरहेका छन् । 'डाक्टरले भनेअनुसारको औषधि किनेर दिन पाए पो बाँच्ने आशा हुन्थ्यो, केही उपाय छैन,' मामा चन्द्रबहादुरले भने, 'अब त्यो अक्सिजनको सहाराले कति दिन राख्नु, दिनदिनै खर्च बढेको छ ।'
