काभ्रे — काभ्रेका धुलिखेल नगरपालिकाले रोजगार मेला सञ्चालन गरेको छ । धुलिखेल नगरपालिकाको सभा हलमा सञ्चालित मेलामा रोजगारसँग सम्बन्धित ३० वटाभन्दा स्टलहरु राखिएका छन् ।
जहाँ होटलका लागि सेल्स एन्ड मार्केटिङ, फ्रन्ट अफिस, किचनका लागि एफ एन्ड बि सर्भिस, स्कुलका लागि विभिन्न पदमा भ्याकेन्सी खुला भएको तथा प्राविधिक क्षेत्रमा तालिमको अवसर प्रदान गरिने बारेका स्टलहरु राखिएका छन् ।
सीप र क्षमता अनुसारको रोजगारी उपलब्ध गराउने उद्देश्यले दुई दिने रोजगार मेला आयोजना गरिएको र एक सयभन्दा बढीलाई नयाँ रोजगारीको अवसर सिर्जना गरिने रोजगार मेलाका संयोजक एवं वडा नम्बर ३ का वडाध्यक्ष गणेश आचार्यले जानकारी दिए । उनका अनुसार, प्रधानमन्त्री रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत आयोजना गरिएको मेलामा रोजगारी सिर्जना, क्षमता पहिचान, रोजगारदाता र बेरोजगारको तथ्यांक संकलन, अन्तर निकाय समन्वय र सहजीकरणमा सघाउने लक्ष्य राखिएको छ ।
मेलामा रोजगारदातासँग प्रत्यक्ष कुराकानी, करियर काउन्सिलिङलगायत स्थानीय उत्पादन, स्थानीय खानाका परिकार, स्वस्थ सहरबारे जानकारीलगायतका स्टल राखिएको उनले बताए ।
नगरपालिकाले प्रदान गरेको सीपबाट उद्यमी बनेकाहरुको सीपसमेत मेलामा प्रदर्शनकी लागि राखिएका छन् ।
