हेटौंडा — वर्षाका कारणले पहिरो गएर कान्ति लोकपथ बुधबार बिहानदेखि अवरुद्ध भएको छ ।
मंगलबार राति परेको पानीले कान्तिलोकपथस्थित ठिंगन–वगुवा सडक खण्डमा पर्ने गंगटेमा गएको पहिरोले सडक अवरुद्ध भएको हो ।
‘सडकमाथिबाट ठूलो पहिरो खसेकाले बिहानदेखिनै कान्तिलोकपथ अवरुद्ध छ,’ इलाका प्रहरी कार्यालय ठिंगनका प्रहरी निरिक्षक विद्यासागर मेहताले भने,‘पहिरो पन्छाएर लोकपथ सुचारु गर्न प्रयत्न भइरहेको छ ।’
पहिरो पन्छाउन स्थानीयवासी, प्रहरी र डोजर प्रयोग गरिएको छ । लग कान्तिलोकपथ भएर हेटौंडाबाट काठमाडौंतर्फ जाने सवारी साधनहरु ठिंगनमा रोकिएका छन् भने काठमाडौंबाट हेटौंडातर्फ आउने गाडीहरु वगुवामा रोकिएका छन् ।
