हेटौंडा — मकवानपुर जिल्लालाई सोमबार एक कार्यक्रमकाबीच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिँदै छन् । जिल्लाको १० वटै पालिकालाई ‘पूर्ण खोप दिगोपना सुनिश्चितता’ घोषणापछि जिल्लालाई पूर्ण खोप घोषणा गर्न लागिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य प्रशासक कृष्ण मिजारका अनुसार पहिलो चरणमा जिल्लाका सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिसकेपछि निर्धारित इन्डिकेटर र ‘पूर्ण खोप निर्देशिका २०७१’ को आधारमा सिंगो जिल्लालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गर्न लागिएको हो ।
पछिल्लो सर्वेक्षणअनुसार, १६–२३ महिनाका ४ हजार ८७१ जना बालबालिकाले पूर्ण रूपमा खोप लगाएको तथ्यांक रहेको छ । खोप समन्वय समितिको सक्रियतामा हरेक पालिकाको वडामा घरभेट सर्वेक्षण,२४४ वटा खोप केन्द्रबाट मासिक नियमित सेवा र छुटेकालाई खोप दिने कार्य भएको जनाइएको छ ।
यसै आधारमा ९५ प्रतिशत खोप पहुँच दर पुगेपछि पूर्ण खोपको घोषणा गरिन्छ । खोप लगाउने क्रममा १६ देखि २३ महिनाका एक वालक शून्य खोप लगाएको भेटिएको थियो भने १०७ जना आशिक खोप लगाएको बालबालिका भेटिएको जनस्वास्थ्य कार्यालय हेटौंडाका प्रशासक मिजारले जानकारी दिए ।
आशिंक र शून्य खोप लगाएकाहरुलाई पनि पूर्ण खोप लगाइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । १० वटा पालिका रहेको मकवानपुर जिल्लामा १०२ वटा वडा छन् । स्वास्थ्य संस्थाहरु ११० वटा छन् ।
