भुम्लु गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षायुक्त गाउँपालिका घोषणा

एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्रालाई जनही १ लाख पुरस्कार

असार २३, २०८२

ज्योती श्रेष्ठ

Bhumlu rural municipality announcement of compulsory and free education rural municipality

काभ्रे — भुम्लु गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षायुक्त गाउँपालिका घोषणा गरिएको छ । सोमबार गाउँपालिकाद्वारा सञ्चालित एक कार्यक्रमको अवसरमा पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षायुक्त गाउँपालिका घोषणा गरिएको हो । 

पालिकाका अध्यक्ष प्रेम बहादुर भुजेलले सार्वजनिक गरेको घोषणा पत्रमा हस्ताक्षर गरेर पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका घोषणा गरेका हुन्। गाउँपालिकाको सबै गाउँ, टोल, बस्ती, क्षेत्र भित्र गरिएको सर्वेक्षणमा ४ वर्षदेखि १३ वर्षसम्मका विद्यालय उमेर समूहका २२ सय १० बालबालिका शतप्रतिशत बालबालिकाहरू विद्यालयमा भर्ना भएको र सबै वडाहरू अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएसँगै पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिएको गाउँपालिका अध्यक्ष भुजेलले जानकारी दिए । 

संविधानले सुनिश्चित गरेको शिक्षा सम्बन्धी अधिकारलाई पालिकाले शतप्रतिशत कार्यान्वयन गर्दै अनिवार्य तथा निःशुल्क शिक्षा लागू स्थानीय तह घोषणा गरिएको गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङले बताए ।  उनका अनुसार पालिकाभित्र रहेका बालबालिकालाई विद्यालयमा भर्ना गराई शिक्षाको पहुँचमा पुर्‍याएर पालिकाले पहिलो दायित्व पूरा गरेको छ । यसलाई निरन्तरता दिदैं विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । 

नेपालको संविधान २०७२ र अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ मा भएको व्यवस्था बमोजिम ४ वर्षदेखि १३ वर्षसम्मका विद्यालय उमेर समूहका बालबालिकाहरूलाई विद्यालयमा भर्ना गराई काभ्रेको बेथानचोक गाउँपालिका, खानीखोला गाउँपालिका, महाभारत गाउँपालिका, रोशी गाउँपालिका र पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षा लागू स्थानीय तह घोषणा भएका छन् ।

सो अवसरमा भुम्लु गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा ( एस.ई.ई) २०८१  मा उत्कृष्ट अंक ल्याउने २ जना विद्यार्थीलाई जनही १ लाख रुपैयाँले पुरस्कृत गरेको छ । गाउँपालिकाभित्रका विद्यालयहरूबाट सबैभन्दा उत्कृष्ट अंक ल्याउने छात्रा र छात्रलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको हो ।

छात्रातर्फ वडा नं १, सापिङको रिठ्ठेस्थित सेतीदेवी माध्यमिक विद्यालयका प्रशन गिरीले ३ दशमलव ७४ सीजीपीए प्राप्त गरी उत्कृष्ट भएका थिए  । अरुणोदय माध्यमिक विद्यालय, भुम्लु गाउँपालिका वडा नं २, सिमथलीका मनिता खड्काले ३ दशमलव ४४  सीजीपीए ल्याएर छात्रातर्फ उत्कृष्ट भएकी थिइन्।

उनीहरूलाई जनही १ लाख रुपैयाँसहित सम्मान गरिएको हो। त्यस्तै, धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल ३ विद्यालयलाई पनि नगद २५ हजारसहित सम्मान गरिएको छ । वडा नं ६ को जनता माध्यमिक विद्यालय, वडा नं १ को सेतीदेवी माध्यमिक विद्यालय र वडा नं ७ को शारदा माध्यमिक विद्यालयलाई पुरस्कृत गरिएको हो ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully