प्रधानाध्यापक झाको निधनमा राक्सिराङका शिक्षण संस्थाहरूमा शोक बिदा

असार २०, २०८२

प्रताप विष्ट

Mourning holiday in educational institutions of Raksirang on death of Principal Jha

हेटौंडा — हेटौंडामा मोटरसाइकल दुर्घटनामा बिहीबार मृत्यु भएका राक्सिराङ गाउँपालिका–९ खैराङ अठारेस्थित कालिका माविका प्रधानाध्यापक दिपेन्द्रकुमार झाको शोकमा राक्सिराङ गाउँपालिकाले शोक बिदा घोषणा गरेको छ ।

गाउँपालिकाले अध्यक्षस्तरीय निर्णयअनुसार शुक्रबार एक दिन गाउँपालिकाका सम्पूर्ण शिक्षण संस्थाहरूमा शोक बिदा घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेतद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

धनुषाको जनकपुर–४ मा स्थायी घर भएका ४५ वर्षीय झाको बिहीबार राति हेटौंडा–१० स्थित राप्ती रोडमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । हेटौंडाको बुद्धचोकबाट थानाभर्‍याङतर्फ गइरहेको ना ४३ प ४५१५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको थियो ।

राप्ती रोडमा ह्युमपाइप राख्न सडक खनिएको थियो । सडक खनिएकै स्थानमा मोटरसाइकल दुर्घटना भएर प्रधानाध्यापक झाको मृत्यु भएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । ४५ वर्षीय झा १५ वर्षदेखि उक्त विद्यालयमा प्रधानाध्यापक पदमा कार्यरत रहेका थिए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully