हेटौंडाबाट काठमाडौं हिँडेको गाडी दुर्घटना, ५ जना घाइते

असार २०, २०८२

प्रताप विष्ट

Car accident from Hetaunda to Kathmandu, 5 injured

काठमाडौँ — हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ रातामाटेमा भएको गाडी दुर्घटनामा ५ जना घाइते भएका छन् । तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उपचारका निम्ति घाइतेहरुलाई काठमाडौंतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए । घाइतेहरुमा पर्सा जिराभवानी गाउँपालिका–३ का ३५ वर्षीय चन्द्र सन्जु, भारत विहारका ३९ वर्षीय रिसाहद कुमार, सोही  ठाउँका ३५ वर्षीय शंकर कुमार गम्भीर घाइते छन् । भारत विहारकै २७ वर्षीय जताशंकर कुमार र राकेश कुमार घाइते भएका छन् । 

हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०५५१ नं.को गाडी घुम्तीमा ब्रेक हान्दा टायर चिप्लिएर सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको थियो । गाडीमा चालकसहित १० यात्रु रहेका थिए । गाडी चालक बारा परवानीपुरका २२ वर्षीय राजाराम साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सवारीसाधन तीव्र गतिमा चलाएका कारण दुर्घटना भएको यात्रुहरुले बताएका छन् ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully