लागूऔषधसहित तीन युवक पक्राउ

असार १९, २०८२

प्रताप विष्ट

Three young men arrested with drugs

हेटौंडा — हेटौंडा प्रहरीले लागूऔषधसहित तीन जना युवालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा औद्योगिक क्षेत्रको पानीट्यांकी नजिकबाट ट्रामाडोल १७७० क्याप्सुलसहित हेटौंडा उपमहानगरपालिका—१५ शिखरपानीका २४ वर्षीय महेश तामाङ, भिमफेदी गाउँपालिका घर भई हाल हेटौंडा—९ मा डेरा लिएर बस्ने २६ वर्षीय कैलाश थापा मगर र हेटौंडा— १३ का ४०  वर्षीय सोम स्याङ्तानलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको टोलीले गस्ती गर्दै जाने क्रममा हेटौंडा औद्योगिक क्षेत्रभित्र पानीट्यांकी नजिक सडक खण्डमा ना. ३८ प ३१८५ नं. को मोटरसाइकल र  ना २१ प १७१ को स्कुटर रोकेर बसिरहेको अवस्थामा प्रहरीले खानतलासी गर्दा लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए । 

उनीहरुमाथि लागूऔषध कसुर मुद्दामा मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully