सुनकोसीमा प्रमुख प्रशासकीयको कार्यकक्षमा तालाबन्दी

असार १७, २०८२

राजकुमार कार्की

Lockdown in the office of the chief administrator in Sunkosi

सिन्धुली — विद्यालयमा भएको अनियमितता र भुक्तानीको विषयलाई लिएर प्रमुख प्रशासकीय अधिकृतले प्रधानाध्यापकलाई बारम्बार दुःख दिएको भन्दै सिन्धुलीको सुनकोसी गाउँपालिकामा उपाध्यक्षसहित चार वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत र शिक्षाशाखामा तालाबन्दी गरेका छन् । 

विद्यालयको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको र उच्च अदालत पाटनले प्रअमा रही कामकाज गर्ने आदेश भएकोमा बारम्बार पत्र काटेर प्रगतिशील नमुना माविका प्रअ सरिता चौलागाईंलाई स्पष्टीकरण सोधेको भन्दै कार्यकक्षमा तालाबन्दी गरिएको हो । गाउँपालिका उपाध्यक्ष कपिल कोइरालाका अनुसार जनप्रतिनिधिहरु तथा गाउँसभालाई नै जानकारी नदिई बारम्बार पत्र पठाएर स्पष्टीकरण सोध्ने र राजीनामा माग्नेसमेत काम भएकोले तालुक निकायले छानबिन गरिरहेको हुँदा पत्र फिर्ता नलिएसम्म तालाबन्दी जारी रहेने बताए । 

पछिल्लो पटक प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले गाउँपालिकाले उपलब्ध गराएको खर्चको विवरण, भवन निर्माण कम्पनीलाई गर्नुपर्ने भुक्तानी, अनुदानको दुरुपयोग, उच्च नैतिकता, लगायतका विषयलाई लिएर आइतबार प्रअ चौलागाईंलाई स्पष्टीकरण सोधेका छन् । 

प्रमुख प्रशासकीय अधिकृत दर्जीले विद्यालयको आर्थिक कारोबारमा कैफियत देखिएको र निर्माण कम्पनीलाई पुसमै भुक्तानी गर्नुपर्ने रकम हालसम्म नदिइ १६ लाखभन्दा बढी अपुग देखाइएकाले स्पष्टीकरण सोधिएकोमा विरोध स्वरुप कार्यकक्षमा तालाबन्दी गरिएको जनाए । 'पालिकाका इन्जिनियर र आफूले आदेशमा सही गरेपछि हुने भुक्तानी भएकाले छानबिन हुनुपर्‍यो भनेका हौं,' उनले भने ।

गाउँपालिका अध्यक्ष दीपा बोहोरा दाहालका अनुसार विद्यालयमा अनियमितता भएको उजुरी अख्तियारमा परेर छानबिन भइरहेकाले नैतिकता प्रदर्शन गरी छानबिनमा सहयोग पुर्‍याउन प्रअलाई आग्रह गरिएको हो ।

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully