बजेटमा विवाद : बस्दै नबसी सर्‍यो बागमती प्रदेशसभाको बैठक

असार १६, २०८२

सुवास विडारी

Controversy over the budget: The meeting of the Bagmati Provincial Assembly was postponed

मकवानपुर — बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफलका लागि बोलाइएको प्रदेशसभा बैठक बस्दै नबसी स्थगित भएको छ ।

सोमबार १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक स्थगित गरेर ४ बजेका लागि सभामुख भुवन पाठकले बोलाएका थिए । ४ बजेसम्म पनि बजेटको विषयमा सहमति नजुट्दा बैठक १९ गते बिहीबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित भएको सभामुख पाठकले जानकारी दिए ।

प्रदेश सरकारले असार १ गते ६७ अर्ब ४७ करोड रुपैयाँको बराबरको बजेट प्रस्तुत भएपछि पहिलोपटक १२ असारमा बजेटमाथि छलफलका लागि प्रदेशसभा बोलाइएको थियो । तर, बागमती सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र बजेटको विषयमा भएको विवाद चर्किँदै गएपछि प्रदेशसभा बस्न सकेको थिएन ।

बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामा र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बजेट कब्जा गरेको आरोप लगाउँदै आफ्नै सांसदहरु विरोधमा उत्रिएका छन् । कांग्रेसका सांसदहरूले आफ्ना योजना समावेश नभएको, बजेटमा बिचौलिया हाबी भएको, निर्वाचन क्षेत्रमा सांसदका योजना नपर्ने तर बाहिरबाट आएको त्यही प्रकृतिको योजना परेकाले छानबिन गर्नुपर्ने लगायतका विषय उठाएका थिए ।

यसअघि बसेको दलको बैठकमा कांग्रेसका सांसदहरुले बजेटमाथिको छलफलमा सहभागी नहुने चेतावनी दिएकाले बैठक स्थगित गरेर १६ असारका लागि तय गरिएको थियो । तर, विवाद समाधानका लागि सोमबार साढे ११ बजेबाट बसेको कांग्रेस संसदीय दलको बैठकमा सहमति नजुट्दा बैठक फेरि सारिएको कांग्रेसका सांसद छिरिङ लामाले बताए ।

कांग्रेस संसदीय दलको बैठकमा असन्तुष्ट सांसदहरुले बजेटको विषयमा स्वतन्त्र ढंगले प्रस्तुत हुन पाउने माग राखेका छन् । लामाका अनुसार बैठकमा जनमुखी बजेट र कार्यक्रम ल्याएको दाबी गर्न मुख्यमन्त्री र अर्थमन्त्रीलाई बैठकमा चेतावानी दिएको बताए । कांग्रेसका असन्तुष्ट सांसदहरुले सदन नै अवरुद्ध गर्ने तयारी भनेको नगरेको सांसद लामाको भनाइ छ ।

बजेट कार्यान्वयनमा नजाँदै विवाद उत्पन्न भएपछि सांसदहरुले उठाएका विषयमा अध्ययन गर्न कांग्रेस र एमालेले चार सदस्यीय अध्ययन टोली पनि बनाएको छ । १२ असारमै कांग्रेसका रमेशकुमार महत र प्रभात तामाङ एमालेका मधुसुदन पौडेल र केशवप्रसाद पोख्रेलको अध्ययन टोली बनेको थियो ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully