स्वास्थ्य चौकीका कार्यालय सहयोगीद्वारा स्थानीयको हत्या

असार १४, २०८२

प्रताप विष्ट

Killing of a local by the office assistant of the health post

हेटौँडा — मकवानपुरको बागमती गाउँपालिका–९, बेतिनीमा खुर्पा प्रहार गरी स्वास्थ्य चौकीका कर्मचारीले एक जनाको हत्या गरेका छन्।

बेतिनी स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी बारा, निजगढ नगरपालिका–३, सिंगोलका ३५ वर्षीय कुमार थापाले ५७ वर्षीय रामबहादुर वाइबालाई खुर्पा प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको टोलीले थापालाई नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार रामबहादुर वाइबा घरबाट नजिकैको गोठतर्फ गाइवस्तुलाई घाँस हाल्न भनी पुरानो स्वास्थ्य चौकीको भवन हुँदै जाने क्रममा थापाले पछाडिबाट खुर्पा प्रहार गरी हत्या गरेका हुन्।

थापा मानसिक रूपमा विक्षिप्त देखिएको प्रहरीको भनाइ छ। स्थानीयले पनि केही समययता थापा 'मान्छे काट्छु' भन्दै हिँड्ने गरेको बताएको प्रहरीले उल्लेख गरेको छ। प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा पनि मानसिक रूपमा सन्तुलन गुमेजस्तो उत्तर दिने गरेको जनाएको छ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully