मेलम्चीमा बस पल्टिँदा आठ जना घाइते

असार १४, २०८२

अनिश तिवारी

Eight injured when bus overturns in Melamchi

सिन्धुपाल्चोक — शनिबार दिउँसो मेलम्ची नगरपालिका–१० स्थित मेलम्ची–भोताङ सडक खण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी सिन्धुपाल्चोकका अनुसार भोताङबाट मेलम्चीतर्फ आउँदै गरेको ना.प्र. ३०–००५ ख ९९७६ नम्बरको यात्रुबाहक बसको अगाडिको पट्टा भाँचिएपछि अनियन्त्रित भइ सडकबाट तल खसेको थियो । सडकबाट झन्डै ५० मिटर तल इन्द्रावती खोलाको बगरमा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

'दुर्घटनापछि घाइते यात्रुहरूलाई तत्काल उद्धार गरी मेलम्ची नगर अस्पतालमा उपचारका लागि लगिएको छ,' जिल्ला प्रहरी नायब उपरीक्षक माधवराज खरेलले भने । 

घाइते सबैको अवस्था हालसम्म बोल्न सक्ने र सामान्यदेखि मध्यम रहेको उनले जानकारी दिए । घाइते हुनेमा बस चालक मण्डनदेउपुर–६, काभ्रेका महेश्वर ढकाल र तामाकोसी–८, दोलखाका २४ वर्षीय राज खड्का  रहेका छन् । घाइते यात्रीहरुमा पाँचपोखरी थाङपाल–६ का अनिल भण्डारी, पेमा लामा, लोर्की तामाङ, हेलम्बु–२ की १७ वर्षीया सुस्मिता ज्योति र ३२ वर्षीय रामचन्द्र पौडेल र पाँचपोखरी थाङपाल–५  की ६० वर्षीया तारादेवी श्रेष्ठ रहेकी छन् । 

घटनास्थलमा इलाका प्रहरी कार्यालय मेलम्चीबाट प्रहरी टोली खटिएको छ । 

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully