नारायणगढ-मुग्लिन सडक आज २ घण्टा बन्द हुने 

असार १२, २०८२

रमेशकुमार पौडेल

Narayangadh-Muglin road will be closed for 2 hours today

चितवन — नारायणगढ-मुग्लिन सडकखण्ड आज दुई घण्टा बन्द हुने भएको छ । 

बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द हुने भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए । हेटौंडाबाट लामो एक्स्काभेटर ल्याएर अड्केका ढुंगा झार्न लागेको उनले बताए ।

तुइन खोलामा बेलाबेलामा पहिरो गएर बाटो थुनिने गरेको छ । पहिरोको जोखिम ल्याउन सक्ने ठूला ढुंगा हटाउनका लागि सडक बन्द गर्न लागिएको हो ।

असार ३ गते  सुक्खा पहिरो खस्दा दिउँसो ४ घण्टाभन्दा बढी सडक अवरुद्ध भएको थियो । साना ढुंगा खसेर गाडीमा क्षति समेत पुगेको थियो ।

बाटो खुलेपछि पनि लेनअनुसार गाडी चलाएर सहयोग गर्न डिभिजन सडक कार्यालयले अपिल गरेको छ ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully