हेटौंडा — पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोष्टबाट मकवानपुर प्रहरीले लागूऔषधसहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
बुधबार भारतको मोतीहारीबाट काठमाडौंतर्फ गइरहेको बिएल ०१ एडब्लु १४०४ नम्बरको कारबाट लागूऔषधसहित ती व्यक्तिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
प्रहरीले चेकपोष्टमा कार रोकेर जाँच गर्ने क्रममा लागूऔषध ट्रमाडोल २५ हजार ४५५ क्यापसुल र ओनरेक्स १२० बोतल बरामद गरेको थियो । लागूऔषधसहित कारमा सवार भारतको बिहार राज्य मोतीहारी जिल्ला पंचमिडियाका २६ वर्षीय उपेन्द्र यादव, २२ वर्षीय संजितकुमार यादव र ३५ वर्षीय सिकिन्दर महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
कारको पछाडि डिक्किमा फल्स बटम बनाएर लागूऔषध लुकाएर ल्याएका थिए । पक्राउ परेका तीनै जनालाई प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
