चितवन — घरायसी झगडामा श्रीमान्–श्रीमती दुईजनाले सँगै भीरबाट हाम फाल्दा श्रीमतीको मृत्यु भएको छ ।
चितवनको राप्ती नगरपालिका-४ चौकीडाँडामा श्रीमतीको निधन भएको प्रहरीले जनाएको छ । श्रीमान् भने गम्भिर घाइते भएका छन् । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार चौकीडाँडाकी ४२ वर्षीया कुमारी प्रजा चेपाङको निधन भएको हो ।
उनका श्रीमान् ४७ वर्षीय लिलाबहादुर प्रजा चेपाङ गम्भीर घाइते भएका छन् । मंगलबार मध्यान्हतिर उनीहरू खहरे खोलाको भिरबाट हाम फालेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र खनालले जानकारी दिए ।
दुई जनाले झगडा गरी सँगै भिरतर्फ गएको उनले बताए । कुमारीको घटनास्थलमै मृत्यु भएको थियो । श्रीमान् लालबहादुरको बायाँ कानबाट रगत बगेको र कुममा चोट लागेको छ । उनको भरतपुरको सरकारी अस्पतालमा उपचार भइरहेको छ ।
त्यसैगरी श्रीमान्को कुटपिटबाट थप दुईजना महिला घाइते भएका छन् । कुटपिट गर्ने श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका-११ नौरङ्गेमा मंगलबार साँझ आठ बजे २५ वर्षीया महिलालाई उनका श्रीमानले कुटपिट गर्नुका साथै खुकुरीले शरिरका विभिन्न ठाउँमा प्रहार गरेका थिए ।
घाइतेको अवस्था मध्यम छ । उनको भरतपुरको सरकारी अस्पतालमा उपचार भइरहेको छ । घटनापछि फरार रहेका श्रीमान्लाई प्रहरीले एक घण्टापछि नियन्त्रणमा लिएको थियो ।
यस्तै भरतपुर-५ कैलासनगरमा ३१ वर्षकी महिलालाई उनका श्रीमान्ले कुटपिट गरेका छन् । मंगलबार राति १० बजे भएको उक्त कुटपिटमा महिलाको टाउकोमा चोट लागेको छ । मध्यम घाइते अवस्थाकी महिलाको भरतपुरको सरकारी अस्पतालमा उपचार भइरहेको छ । श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
