११ स्थानीय तहले ल्याए बजेट : निःशुल्क शिक्षा, स्वास्थ्यदेखि कृषि रोजगारीसम्म

असार ११, २०८२

अनिश तिवारी

11 local levels brought the budget: from free education, health to agricultural employment

सिन्धुपाल्चोक — जिल्लाको सुनकोसी गाउँपालिकाबाहेकका स्थानीय तहले आर्थिक वर्ष २०८२/०८३ का लागि महत्त्वाकाङ्क्षी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आफ्नो गाउँदेखि नगरसभा सकेका छन् । निःशुल्क शिक्षा, स्वास्थ्य, रोजगारीदेखि कृषि, पर्यटनमा महत्त्वाकाङ्क्षी योजनालाई स्थानीय सरकारले प्राथमिकता दिएको देखिन्छ ।

आगामी आर्थिक वर्षको योजना कार्यान्वयनका लागि ६० करोड ३३ लाख ८४ हजार ४ सय ८३ रुपैयाँको बजेट ल्याएको बाह्रबिसे नगरले १७औँ नगरसभा सकेको छ । निःशुल्क शिक्षा र मनसुनजन्य विपद् न्यूनीकरणका लागि काम गर्ने लक्ष्य लिएको यस नगरले निःशुल्क शिक्षाका लागि चार करोड बजेट राखेको बाह्रबिसे नगरका मेयर बालकृष्ण बस्नेतले बताए ।

‘सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन मन्टेश्वरी शिक्षकको तलब र भत्ता वृद्धि गरेर मासिक २० हजार पुर्‍याइएको छ, आठ कक्षासम्म दिवा खाजा, कक्षा १२ सम्म निःशुल्क शिक्षाका लागि गत आवहरूमा झैँ बजेटलाई निरन्तरता दिएको छ,’ मेयर बस्नेतले भने । मौसमजन्य घटनाबाट घरबास गुमाएका पीडितका लागि एक करोड ५० लाख बजेट विनियोजन गरिएको उनको भनाइ छ ।

त्रिपुरासुन्दरी गाउँपालिकाले १८औँ गाउँसभाबाट ४७ करोड बजेटसहित यसअघिको निःशुल्क शिक्षा, आठसम्म दिवा खाजा, आमा बचाऊ अभियान, खानेपानीको मुहान परीक्षणसहित नयाँ कार्य योजना अघि सारेको गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराले बताए । ‘कृषि, शिक्षालाई प्राथमिकतामा राखेका छौँ, स्नातक पासका लागि रोजगारी सिर्जना गर्ने र उज्यालो त्रिपुरा अभियानमा सडक बत्तीलाई २०/२० लाख, मुटु रोगीलाई निःशुल्क औषधि, ४० प्रतिशत गाउँपालिकाले व्यहोर्ने गरी स्वास्थ्य बिमा जस्ता कार्यक्रम छन्,’ उनले भने । बाझो जग्गामा लगाउनेलाई प्रति रोपनी प्रोत्साहन अनुदान, कृषि बजारीकरण, चिस्यान केन्द्र गाउँपालिकाको लक्ष्य छन् ।

जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोका अनुसार आगामी नीति तथा कार्यक्रममा निःशुल्क शिक्षा, गुणस्तरीयतासहित पूर्वाधार निर्माणलाई जोड दिइएको छ । आफ्नो नेतृत्वमा हालै गरिएको एक ‘शैक्षिक खोज अभियान’ले केही विकट गाउँहरूमा अझै पनि धेरै बालबालिका विद्यालयको पहुँचबाहिर रहेको देखिएको र त्यसलाई जोड दिएको उनले बताए ।

जंगलको बीचमा रहेको जुगल गाउँपालिकाको माथिल्लो तिलुमाराङ गाउँबस्तीमा २० परिवार बसोबास गर्छन् । यहाँबाट विद्यालय रहेको सञ्चगाउँ आइपुग्न चार घण्टा जंगलको बाटो हिँड्नुपर्ने बाध्यता, बाघ भालुको त्रास र भाषिक अवरोधले बालबालिकाहरू विद्यालयबाट टाढा छन् । ‘कतिपयले त नेपाली भाषा नै बुझ्दैनन्, त्यसैले गाउँपालिका कार्यालयले विशेष पहल गर्दै यहाँका १७ बालबालिकालाई चनौटेस्थित रत्नराज्य माविमा भर्ना गराएको छ, शिक्षादेखि बसोबास र खानपानसम्मको सम्पूर्ण खर्च पालिकाले व्यहोर्दै आएको छ,’ उनले भने । वर्षमा एक चोटि अभिभावकलाई चनौटे बोलाउने व्यवस्था मिलाएका उनले जनाए ।

चौतारा साँगाचोकगढी नगरले १ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको बजेट प्रस्ताव गर्दै १८औँ नगरसभाबाट आगामी वर्षको नीति सार्वजनिक गरेको उपप्रमुख सीता थापाले बताइन् । शिक्षा, युवा तथा खेलकुदलाई पहिलो प्राथमिकता दिँदै ६ करोड रुपैयाँ विनियोजन गर्ने प्रस्ताव गरिएको छ । उता मेलम्ची बाढीमा चपेटामा परेको मेलम्ची नगरले १ अर्ब ५३ करोड ९ लाख रुपैयाँको बजेट विनियोजन गर्दै पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । सडक निर्माण, ढल निकास प्रणाली, खानेपानी परियोजना र सार्वजनिक भवनजस्ता कामलाई विशेष प्राथमिकता दिइएको मेलम्ची नगरका मेयर आइतमान तामाङको भनाइ छ ।

उता महत्त्वाकाङ्क्षी योजना बोकेको हेलम्बु, पाँचपोखरी थाङपाल, लिसंखुपाखर र इन्द्रावती गाउँपालिकाले पर्यटकीय गुरुयोजनादेखि कृषि परियोजना र उत्पादन प्रोत्साहनलाई जोड दिएका छन् । सम्भवतः विश्वकै दोस्रो ग्रेट ट्रेल बनाइरहेको ह्योल्मोभूमि हेलम्बुले हिमालयन गुरु रेन्पोछे ग्रेट ट्रेल, मोडल विद्यालयलाई मुख्य लक्ष्य बनाएको छ । पर्यटकीय दृष्टिकोणले हेलम्बुको विभिन्न स्थान जोड्ने पदमार्ग, हेलम्बु भेम्थाङमा बेसक्याम्प, ट्रे‌निङ सेन्टर बनाउने लक्ष्य हेलम्बुको छ ।

इन्द्रावतीले गुणस्तरीय पूर्वाधार, उत्पादकत्वमा सुधार, सुमधुर बजारीकरणदेखि सबै सेवाको गुणस्तर बढाउँदै स्थानीय उत्पादनमा वृद्धिको लक्ष्य राखेको छ । भने भोटेकोशी गाउँपालिकाले १६औँ गाउँसभाबाट मुख्य एजेन्डा निःशुल्क शिक्षा, दिवा खाजा, पर्यटकीय क्षेत्रको उन्नति र पूर्वाधार निर्माणलाई बनाएको छ ।

सुनकोशीको स्थगित

मंगलबार तीन नगर र अधिकांश गाउँपालिकाले गाउँसभा बसेर आगामी आर्थिक वर्षको कार्यक्रम योजना प्रस्तुत गरेका छन् । तर, सुनकोशी गाउँपालिकाले भने गाउँसभामा गणपूरक संख्या अपुग भएपछि छैटौँ गाउँसभा स्थगित गरेको जनाएको छ । गाउँपालिका अध्यक्ष टपिन्द्र तिमिल्सिनाले सबैको सहमति र छलफलमा असार २९ गते गाउँसभा हुने निर्धारण गरिएको बताए ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully