मकवानपुर — हेटौंडामा रहेको एक होटलबाट लागूऔषधसहित मकवानपुर प्रहरीले तीन जनालाई पक्रेको छ ।
हेटौंडा–१० स्थित सेन्टर प्वाइन्ट होटलको कोठा नम्बर १०४ बाट लागूऔषधसहित ३ जनालाई पक्रेको हो ।
पक्राउ पर्नेमा हेटौंडा–७ का २० वर्षीय सुकलाल स्याङ्तान र १८ वर्षीय विशाल गोले तथा जिल्ला पर्साको वीरगञ्ज महानगरपालिका २१ बस्ने २२ वर्षीय सुरेश पाण्डे रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट लागुऔषध नाइट्राभेट ८४ ट्याब्लेट, ट्रामान १० क्याप्सुल, नुफिन ३ एम्पुल, फेनार्गन ३ एम्पुल र डाइजेपाम ३ एम्पुल फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
होटलबाट लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले होटलको कोठा तथा उनीहरुको शरीर खानतलासीको क्रममा लागुऔषध फेला पारेको हो ।
कोठाभित्र रहेको पलङको सिरानीमुनि लुकाएर राखेको अवस्थाको लागुऔषधसहित तीनै जनालाई नियन्त्रणमा लिएको डीएसपी अर्यालले बताए ।
लागूऔषधसहित पक्राउ परेका सुकलाल स्याङ्तान, विशाल गोले र सुरेश पाण्डेलाई जिल्ला अदालत मकवानपुरबाट लागुऔषध मुद्दामा ५ दिनको म्याद अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
