भक्तपुर — प्रा. डा. सिद्धिवीर कर्माचार्यले टोनी हागन फाउन्डेसनलाई आर्थिक सहयोग गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक समारोहका बीच भक्तपुर निवासी कर्माचार्यले फाउन्डेसनका अध्यक्ष प्रा. डा. प्रमोदकुमार झालाई १ लाख ४ हजार ४ सय ४४ रूपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
यो धनराशि टोनी हागनको स्मृतिकमा गरिने विज्ञान र विकाससम्बन्धी प्रवचन शृंखलामा खर्च गरिने फाउन्डेसनका अध्यक्ष झाले बताए। प्राडा कर्माचार्यलाई आर्थिक सहयोग गरेबापत प्रशंसापत्र दिइएको छ ।
प्राडा कर्माचार्यले फाउन्डेसनको सदस्य भएर पनि संस्थाका निम्ति उल्लेखनीय कुनै योगदान गर्न नसकिएको बताउँदै यो सानो धनराशिले थोरै भए पनि सहयोग भएको खण्डमा आफूलाई खुसी मिल्ने बताए।
कार्यक्रममा फाउन्डेसनका सदस्य तोयनाथ भट्टराईले कर्माचार्यको यो सहयोग अरूका लागि पनि प्रेरणा हुने बताए ।
