मकवानपुर — हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिले आफूहरु असुरक्षित रहेको बताएका छन् । शुक्रबार हेटौंडाका उपमहानगरका जनप्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पुगेर प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठसहित जिल्लास्थित प्रहरी, सशस्त्र, नेपाली सेना र राष्ट्रिय अनुसन्धान प्रमुखकै अगाडि सरकारी, ऐलानी तथा पर्ती जग्गा संरक्षण गर्न खोज्दा आफूहरु असुरक्षित भएको बताएका छन् ।
उनीहरुले केहीदिन अगाडि हेटौंडा–१ का वडाध्यक्ष सविन न्यौपानेमाथि सरकारी, ऐलानी तथा पर्ती जग्गा संरक्षण गर्न खोज्दा सांघातिक आक्रमण गर्दै मोबिल प्रहार गर्ने काम भएको भन्दै तत्काल दोषीको पहिचान गरी कारबाही नभएको खण्डमा आफूहरु काम गर्न असमर्थ हुने बताएका छन् ।
प्रहरीले घटनामा संलग्नलाई अझैसम्म पक्राउ गर्न नसक्दा जिल्लाको राजनीतिक माहोल क्रमशः बिग्रँदै गइरहेको अवस्थामा जनप्रतिनिधिहरु प्रशासन प्रमुखको ध्यानाकर्षण गराउन पुगेका थिए ।
‘जिल्ला प्रहरी कार्यालयबाट नजिकको वडाध्यक्षमाथि सांघातिक आक्रमण हुँदा प्रहरीले अझैसम्म घटनामा संलग्नलाई पक्राउ गर्न सकेको छैन । हामी गाउँको वडाध्यक्ष अब सुरक्षित छैनौं । यस्तै अवस्था रहने हो भने अब हामी जिल्ला प्रशासनमै टेबल राखेर काम गर्छौं ।’
हेटौंडा–१६ का वडाअध्यक्ष रामकृष्ण कोइरालाले प्रशासन र प्रहरीले जिल्लाबासीलाई ढुक्कसँग बस्न र काम गर्न पाउने वातावरण सिर्जना गर्न जरुरी रहेको औंल्याए ।
हेटौंडा–१४ का वडाध्यक्ष दीपक खड्काले स्थानीय तहका जनप्रतिनिधिलाई विभिन्न समूहको नाम थर्काउने, धम्कीदिने र चन्दा माग्ने काम भइरहेकोप्रति प्रशासनको ध्यानाकर्षण गराएका छन् । ‘जनप्रतिनिधि साँझ-बिहान नभनेर खटिएका छन् । तर, उनीहरुलाई थर्काउने र धम्काउने काम भइरहेको छ ।’
अध्यक्ष खड्काले जनप्रतिनिधिलाई सुरक्षित भएर सेवा दिने वातावरण बनाउन प्रशासनले काम गर्नुपर्ने औंल्याए । हेटौंडा–११ की वडाअध्यक्ष जुना दाहालले आफ्नो वडामा रहेको ऐलानी जग्गा कब्जा गर्न सुकुम्बासीको नाममा पटकपटक प्रयास भएको बताइन् । उनले प्रशासनको सहयोगबाट ६ जनालाई नियन्त्रणमा लिएपछि अहिलेलाई उक्त कार्य रोकिएको बताइन् । ‘जग्गा कब्जा गर्नका लागि सुकुम्बासीको नाममा महिलाहरु परिचालन भएका छन् । यो दुखद् छ,' उनले भनिन्,'केही समय अगाडि हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलमाथि पनि केही अराजक समूहले कुटटिपको प्रयास गरेका थिए ।'
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले वडाध्यक्षमाथि सांघातिक हमला गर्नेको खोजी भइरहेको बताउँदै छिट्टोभन्दा छिट्टो पक्राउ पर्ने दाबी गरिन् । उनले जिल्लाको सुरक्षा अवस्था मजबुद रहेको दाबी गरिन् । हेटौंडामा रहेको १९ वटै वडाका अध्यक्षहरु प्रशासन कार्यालयमा पुगेका थिए ।
