अपांगता भएका ३३ परिवारलाई हेटौंडा उपमहानगरको सहयोग

असार ६, २०८२

प्रताप विष्ट

Hetaunda sub-metropolitan support to 33 families with disabilities

हेटौंडा — हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रका विभिन्न वडामा बसोबास गर्दै आएका अपांगता भएका ३३ जनाको परिवारलाई कृषि व्यवसाय प्रवर्द्धनका लागि सहयोग गरेको छ ।

अपांगता भएकाको क्षेत्रमा काम गरीरहेको अपाड्ड सरोकार केन्द्रसँगको समन्वयमा उपमहानगर क्षेत्रमा रहेका परिवारलाई बाख्रा, बंगुर र मौरीको घार सहयोग गरेको हो । कृषि व्यवसाय प्रवर्द्धन कार्यक्रम अन्तर्गत उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाले २६ परिवारलाई बाख्रा, ५ परिवारलाई मौरीको घार र २ परिवारलाई बंगुर वितरण गरिएको सरोकार केन्द्रका अध्यक्ष गणेशचन्द्र दवाडीले जानकारी दिए ।

व्यवसाय प्रवर्द्धन कार्यक्रममा नगर प्रमुख लामाले बिऊ पुजीको रुपमा उपमहानगरले सहयोग गरेको बताइन् । बिऊलाई मास्ने होइन बिस्तार गर्दै लैजानेतर्फ लाग्न जरुरी रहेको उनको सुझाव थियो । शारीरिक रुपमा अशक्त भएपनि घरमै रहेर दिगो आयआर्जनको पाटोमा जुटेकोमा खुसी व्यक्त गर्दै उपमहानगर सधैं सहयोगीको भूमिकामा रहने बताइन् । 

उनीहरुले ९६ वटा बाख्रा, २० वटा बंगुर, ११ वटा मौरीको घार र ४ वटा गोठ निर्माणका लागि अनुदान पाएका छन् । कृषि व्यवसायको सुधार गर्दै दिगो आर्यआर्जनमा जोडिन मद्दत गर्ने उद्देश्य अनुसार उपमहानगरले ५० प्रतिशत लागत व्यहोरेको छ । 

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully