मकवानपुरका ९ वटा पालिका पूर्ण खोप सुनिश्चित घोषणा

असार ६, २०८२

प्रताप विष्ट

9 Municipalities of Makwanpur declared complete vaccination

काठमाडौँ — मकवानपुरका १० वटा पालिकामध्ये ९ वटा ‘पूर्ण खोप दिगोपना सुनिश्चित पालिका’ घोषणा भइसकेका छन् । 

मनहरि गाउँपालिकालाई बिहीबार ‘पूर्ण खोप दिगोपना सुनिश्चितता पालिका’ घोषणासँगै जिल्लाको ९ वटा पालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा भएका हुन् । अब हेटौंडा उपमहानगरपालिका मात्र घोषणा हुन बाँकी छ ।

उपमहानगरपालिमा असार ११ गते गर्ने घोषणा कार्यक्रम रहेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य प्रशासक कृष्ण मिजारले बताए ।

पालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालका अनुसार पहिलो चरणमा पालिका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिसकेपछि निर्धारित इन्डिकेटर र ‘पूर्ण खोप निर्देशिका २०७१’ को आधारमा यो वर्ष खोपको दिगोपना सुनिश्चित गरिएको हो ।

पछिल्लो सर्वेक्षणअनुसार, १६–२३ महिनाका ७६६ जना बालबालिकाले पूर्ण रूपमा खोप लगाएको तथ्यांक रहेको छ । खोप समन्वय समितिको सक्रियतामा हरेक वडामा घरभेट सर्वेक्षण, ९ वटा खोप केन्द्रबाट मासिक नियमित सेवा र छुटेकालाई खोप दिने कार्य भएको जनाइएको छ । यसै आधारमा ९५ प्रतिशत खोप पहुँच दर पुगेपछि पालिकालाई जिल्ला समन्वय समितिमा प्रस्ताव पेश गरिएको र स्वीकृत भई घोषणा गरिएको हो ।

मनहरि गाउँपालिकामा ९ वटा वडा रहेका छन् । पालिकामा एक आधारभुत अस्पतालसहित १० वटा स्वास्थ्य संस्था छन् । जिल्ला समन्वय समितिका प्रमुख घलानले  घोषणा कार्यक्रममा बोल्दै खोपले बालबालिकालाई रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्ने भएकाले कसैलाई पनि खोपबाट वञ्चित गर्न नहुने स्पष्ट पारे । साथै, खोप सुनिश्चितता अभियानमा योगदान गर्ने सबै स्वास्थ्यकर्मी र कर्मचारीको प्रशंसा गरेका थिए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully