वर्षाले सिन्धुपाल्चोकको लिपिङ बजारमा क्षति, भोटेकोशी तटीय बस्तीमा सतर्कता

असार ४, २०८२

अनिश तिवारी

Rain damages Sindhupalchok's lipping market, vigilance in Bhotekoshi coastal settlement

सिन्धुपाल्चोक — मंगलबार राति परेको वर्षाका कारण जिल्लाको भोटेकोसी गाउँपालिका–२ अन्तर्गत लिपिङ बजार क्षेत्रमा क्षति पुर्‍याएको छ । पहाडबाट खसेको ढुंगाले स्थानीय तीन घरमा क्षति पुर्‍याएको इलाका प्रहरी कोदारीले जनाएको छ ।

 प्रहरीका अनुसार स्थानीय सुनिता श्रेष्ठको एक तले जस्ताले बनेको घर पूर्ण रूपमा भत्किएको छ भने पदम श्रेष्ठ र फूलमाया तामाङको घरको सटरमा क्षति पुगेको छ । 

घटनास्थलमा इलाका प्रहरी कार्यालय कोदारीबाट प्रहरी टोली खटिएको छ ।

तिब्बतबाट सतर्कताका लागि सन्देश

बुधबार छिमेकी चीनको स्वशासित तिब्बत क्षेत्रमा सात दिनसम्म भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानपछि चिनियाँ अधिकारीहरूले नेपाली पक्षलाई सतर्क रहन सन्देश पठाएका छन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाकाअनुसार जाङ्मु पोर्टस्थित अध्यागमन कार्यालयमार्फत नेपालतर्फका सुरक्षा निकायहरू—सशस्त्र प्रहरी, अध्यागमन कार्यालय कोदारी र भोटेकोशी गाउँपालिकालाई मौखिक रूपमा सूचित गरिएको छ ।

चिनियाँ चेतावनीपछि भोटेकोशी नदी आसपासका सबै सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिएको जानकारी दिए । न्यालम क्षेत्रमा वर्षा सुरु भइसकेको सूचना आएको र  भोटेकोशीको लिपिङदेखि चौतारा साँगाचोकगढीको सिम्लेसम्मका बस्तीहरूलाई सूचित गरेको उनले बताए  ।'

सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले पनि बुधबार सार्वजनिक सूचना जारी गर्दै तटीय क्षेत्रका बासिन्दाहरूलाई सचेत गराएका छन् । उनले भने, 'हाल भोटेकोशीसहित सुनकोशी क्षेत्रमा समेत भारी वर्षाको सम्भावना रहेको बताइएको छ । अहिले भोटेकोशी नदीमा बाढी बढ्दो छ तर अवस्था खतराको चरणमा पुगेको छैन । यद्यपि तातोपानी, बाह्रबिसे, लामोसाँघु र बलेफी क्षेत्रका बासिन्दालाई पनि सतर्क रहन आग्रह छ ।'

अनिश तिवारी तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully