गैंडाले आक्रमण गर्दा एक जनाको मृत्यु

असार २, २०८२

रमेशकुमार पौडेल

One person died after being attacked by a rhinoceros

चितवन — गैंडाले आक्रमण गर्दा आइतबार साँझ चितवनको मेघाैलीमा एकजनाकाे मृत्यु भएकाे छ। जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका-२८ का ६० वर्षीय जंगे कुमालकाे गैंडाकाे आक्रमणमा परी ज्यान गएकाे हाे ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालका अनुसार कुमाललाई आइतबार साँझ आठ बजे तिर गाउँ आडकाे राप्ती खाेलामा गैंडाले हानेकाे हाे।

उनी माछा मार्न खाेलामा गएका बेला घटना भएकाे डिएसपी खनालकाे भनाइ छ । आक्रमणपछि गम्भीर घाइते भएका जंगेलाई उपचारका लागि भरतपुरकाे सरकारी अस्पताल लगिएकाे थियाे । चिकित्सकले राति नाै बजे जंगेलाई मृत घाेषणा गरेकाे प्रहरीले जनाएकाे छ।

चितवन निकुञ्ज आडका चितवनसहित चार जिल्लाका गाउँ बस्तीमा जंगली जनावर गैंडा, बाघ, जंगली हात्ती लगायतका जीवजन्तुकाे आक्रमणमा परेर वर्षेेनि पाँचदेखि २५ जनासम्मकाे ज्यान जाने गरेकाे छ ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully