जटिल रोगका बिरामीलाई मनहरी गाउँपालिकाले मासिक ५ हजार भत्ता दिने

असार २, २०८२

सुवास विडारी

Manhari rural municipality will give monthly allowance of 5000 to patients with complex diseases

मकवानपुर — आर्थिक अवस्था कमजोर भएर मृगौला प्रत्यारोपण, डायलासिस सेवा लिइरहेका, क्यान्सर र मेरुदण्डको पक्षघात भएका बिरामीलाई मनहरी गाउँपालिकाले मासिक ५ हजार रुपैयाँ निर्वाह भत्ता उपलब्ध गराउने भएको छ ।

जटिल प्रकृतिका रोग लागेकालाई औषधि उपचारमा सहयोग पुर्‍याउने र सहज जीवनयापनमा मद्दत पुर्‍याउने उद्देश्यले पालिकाले मासिक निर्वाह भत्ता उपलब्ध गराउन लागेको हो। मनहरी गाउँपालिकाको सोमबार भएको गाउँसभाको १७ औँ अधिवेशन (नीति तथा कार्यक्रम)मा गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले यस्तो जानकारी दिएका हुन् ।

गर्भवती महिलाको आधारभूत जाँच तथा भिडियो एक्सरे सेवा निःशुल्क प्रदान गरिने र सतप्रतिशत आमालाई स्वास्थ्य संस्थामा सुत्केरी गराई पूर्ण संस्थागत सुत्केरी भएको पालिका निर्माण गर्न कार्यक्रम सञ्चालन गरिनुका साथै कडा रोग लागेका गरिब तथा अतिविपन्न, असहाय र पूर्ण अपांग भएकाका लागि एम्बुलेन्स सेवामा छुट दिइने भएको छ। मनहरीले सबै वडाको घरघरमा शुद्ध खानेपानी पुर्‍याउने कार्यलाई पहिलो प्राथमिकतामा राख्ने भएको छ ।

पालिकामा बसोबास गर्ने चेपाङ, बोटे, बनकिरिया लगायतका अल्पसंख्यक तथा मुस्लिम र दलित समुदायलाई विकासको मूलप्रवाहीकरणमा ल्याउने योजना सञ्चालन गरिने भएको छ । पालिकाभित्र सम्भाव्य पर्यटकीय क्षेत्रको विकास र सञ्चालनको उचित मार्गदर्शनका लागि कानुन तर्जुमा गरी मनहरी पर्यटन विकास बोर्ड गठन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पालिकाका जोसुकै व्यक्तिको मृत्यु भएमा अध्यक्ष वा उपाध्यक्ष उपस्थित भई समवेदना व्यक्त गर्ने र सम्बन्धित वडाको सिफारिसको आधारमा मृत्यु संस्कारमा सहयोग पुर्‍याउन २० हजार रुपैयाँ सहयोग गर्ने कार्यलाई निरन्तरता दिइने भएको छ ।

सुवास विडारी विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully