दोलखा — रामेछाप अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. केशव श्रेष्ठ सामाजिक सञ्जालमा 'अलबिदा' लेखेर सम्पर्कविहीन बनेका छन् ।
आफूमाथि अन्याय गरिएको भन्दै उनले फेसबुकमा गुनासो व्यक्त गरेका छन् । अहिले रामेछाप, काठमाडौं र मकवानपुर प्रहरीले उनको खाजी जारी राखेको छ ।
२५ महिनाअघि रामेछाप अस्पतालमा सरुवा भएर आएका श्रेष्ठले १८ महिनादेखि अस्पतालको निमित्त प्रमुख भएर काम गरिरहेका थिए । बागमती प्रदेशको लोकसेवा आयोगबाट नाम निकालेर रामेछाप आएका उनले १८ महिनामा अस्पताललाई १५ शय्याबाट ५० मा स्तरोन्नति गराएका थिए । राजनीतिक हस्तक्षेप र कर्मचारीको असहयोगले आफूलाई पीडाबोध गराएको उनले उल्लेख गरेका छन् ।
सिस्टममा नबसेका कर्मचारीलाई कारबाही थालेपछि आफूमाथि अभद्र व्यवहार र हात हाल्नेसम्मको काम भएको पनि उनले लेखेका छन् । अस्पतालमा भइरहेको सबै गतिविधि मन्त्रायलाई जानकारी गराए पनि उल्टै आफूलाई अन्याय गरेको उनले उल्लेख गरेका छन् ।
उनकै कार्यकालमा रामेछाप अस्पताल बागमती प्रदेशको दोसो उत्कृष्ट अस्पताल बन्न सफल भएको थियो । यस्तै उनले हरेक महिना राजधानीबाट ५ जना विषेशज्ञ चिकित्सक ल्याएर स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका थिए । अस्पताललाई आफ्नो कार्यकालमा बेरुजु शून्य पारेर उनले पारदर्शिता देखाएका थिए ।
