कोदारी खण्ड भास्सिँदा चीन जोड्ने सडक अवरुद्ध

अविरल वर्षासँगै आइतबार बिहान भोटेकोशी–२ स्थित कोदारीको इको खण्ड भास्सिएको हो

असार १, २०८२

अनिश तिवारी

Road connecting China blocked when Kodari section was flooded

सिन्धुपाल्चोक — जिल्लाको भोटेकोशी गाउँपालिका–२ तातोपानीबाट चीन जोड्ने अन्तर्राष्ट्रिय राजमार्गको कोदारी इको खण्ड भास्सिँदा आइतबार बिहानदेखि अवरुद्ध  छ ।

भोटेकोशी-२ का अध्यक्ष कुमार श्रेष्ठका अनुुसार आइतबार बिहान भोटेकोशी–२ स्थित कोदारीमा अविरल वर्षाका कारण सडक भास्सिएर अवरुद्ध भएको हो । 'अब वर्षा सुरु भयो ,सडक अवरुद्ध भइरहने गर्छ, यसले नाका र सीमावासी प्रभावित बनेका छन्,' उनले भने ।

शनिबार रातिदेखिको निरन्तर वर्षापछि सडकको संरचना कमजोर बनेर भास्सिएको जनाइएको छ । सडक भास्सिँदा तातोपानी नाका हुँदै सञ्चालन हुने कन्टेनर ढुवानी तथा दुई देशबीचको अन्तर्राष्ट्रिय व्यापार बर्खाअघि दुईपटक अवरुद्व भएको थियोे  । यसअघि अविरल वर्षापछि कोप्लाङ क्षेत्रमा सडक करिब १५ फिट भास्सिएको थियो, जसका कारण नाका पूर्णरूपमा बन्द भएको थियो ।

स्थानीय प्रशासनले तत्कालीन रूपमा सडक अवरुद्ध भएको जानकारी गराउँदै वैकल्पिक व्यवस्था गर्न कठिनाइ भएको बताएको छ । घटनास्थलमा सडक मर्मतको प्रारम्भिक तयारी भइरहेको छ भने भासिएको क्षेत्रको विस्तृत मूल्यांकनपश्चात् पुनःनिर्माण कार्य सुरु गरिने बताइएको छ । तातोपानी नाका विगतदेखि नै प्राकृतिक प्रकोपका कारण पटकपटक बन्द हुँदै आएको संवेदनशील क्षेत्र हो ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully