हेटौंडा — काठमाडौं जोड्ने कान्ति लोकपथ ७ घण्टापछि सञ्चालनमा आएको छ । पहिरोका कारण कान्तिलोकपथ आइतबार बिहान ४ बजेदेखि अवरुद्ध थियो ।
शनिबार बेलुकादेखिको वर्षाका कारण कान्तिलोकपथ अन्तर्गतका विभिन्न स्थानमा पहिरो गएकाले सडक अवरुद्ध भएको थियो ।
ठिंगन-बगुवा सडक खण्डको भर्याङडाँडा र मकवानपुरगढीको शिखरकटेरीमा सडकमाथिबाट पहिरो खस्नुका साथै रुख पनि ढलेर सडक अवरुद्ध भएको थियो । दुवै स्थानको पहिरो र रुख पन्छाएपछि बिहान ११ बजेदेखि सवारी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
