दोलखा — पर्यटकीय क्षेत्र शैलुङको वन क्षेत्रमा वनेका अवैध घर टहरा हटाउन डिभिजन वन कार्यालय दोलखाले सात दिने समयसीमा दिएको छ। शैलुङ गाउँपालिका–१ र ८ मा पर्ने कालापानीको वन क्षेत्रमा बनेका अवैध संरचना हटाउन सात दिनको समय दिई सूचना जारी गरिएको हो।
डिभिजन वन कार्यालयले गएको जेठ २ गते १५ दिने सूचना जारी गरेर अवैध संरचना हटाउन आग्रह गरेको थियो। पर्यटकीय वन क्षेत्र ओगटेर अवैध संरचना बनाउने होडबाजी रोक्न कार्यालयले सात दिनको अन्तिम समयसीमा दिएको डिभिजन वन कार्यालय दोलखाका प्रमुख कृष्णराज न्यौपानेले जानकारी दिए।
‘सात दिनभित्र वन क्षेत्रमा बनेका होटल तथा अन्य संरचना नहटाए बल प्रयोग गरेर हटाइनेछ,’ प्रमुख न्यौपानेले भने ।
विसं २०७९ मा शैलुङ गाउँपालिकाले वन क्षेत्रको जग्गा सम्याएर स्थानीय व्यवसायीलाई पल्टिङ गरी होटल तथा अन्य व्यवसाय सञ्चालन गर्न भाडामा दिएको थियो। तर, सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने कार्यनीति, २०७१ ले सामाजिक सेवाको प्रयोजनमा निःशुल्क भोगाधिकार दिइएको जग्गा व्यापारिक प्रयोजनमा वा भाडामा लगाउन नपाइने व्यवस्था गरेको छ।
गाउँपालिकाले उक्त कार्यनीति लत्त्याएर वन क्षेत्रको जग्गा व्यवसायीलाई भाडामा दिएको हुँदा अहिले अनुसन्धान भइरहेको बताइएको छ। उक्त जग्गामा पालिकाले गोलघरसहित दुई वटा सामुदायिक संरचना बनाएको छ। ती सामुदायिक संरचना व्यवसायीलाई होटल सञ्चालन गर्न भाडामा दिइएकोमा अख्तियारले अनुसन्धान गरिरहेको जनाएको छ।
‘अख्तियारको पत्रअनुसार शैलुङको कालापानीमा वन क्षेत्रमा बनेका स्थायी संरचना हटाउन थालिएको हो,’ प्रमुख न्यौपानेले भने, ‘वन क्षेत्रमा बनेका सबै संरचनाको नापजाँच गरेर छुट्याएर सूचना टाँसेका छौँ, अटेर गरे बल प्रयोग गर्न बाध्य हुनेछौँ।’
वन क्षेत्रको जग्गा अतिक्रमण गरी चिहानसमेत मासेर होटलका संरचना बनाएको उजुरी आएको र १८ वटा प्लट विभाजन गरी दुई वटा सामुदायिक भवनसहित २० वटा संरचना वनाउन जग्गा भाडामा दिने सूचना गाउँपालिकाले नै जारी गरेको देखिएको उनले बताए।
पालिकाले ती जग्गा ३० वर्षका लागि विभिन्न व्यक्तिलाई भाडामा दिने सम्झौता गरेको पाइएको उनले बताए। वन क्षेत्रमा बनेका निजी होटल संरचना हटाइने र सामुदायिक भवन खाली गराइने उनले स्पष्ट पारे।
