नि:शुल्क स्वास्थ्य शिविरबाट ६२० जना लाभान्वित

जेष्ठ ३१, २०८२

अनिश तिवारी

620 people benefited from free health camps

सिन्धुपाल्चोक — बाह्रबिसे नगरपालिका–४ स्थित किस्टोन अस्पताल तथा रिसर्च प्रालिमा शनिबार सम्पन्न नि:शुल्क स्वास्थ्य शिविरबाट ६ सय २० जना बिरामी लाभान्वित भएका छन् ।

किस्टोन अस्पतालको आयोजनामा तथा डा. इवामुरा मेमोरियल अस्पताल, सल्लाघारी भक्तपुरको विशेष सहयोगमा सञ्चालित शिविरमा विशेषज्ञ चिकित्सकहरूको टोलीबाट स्वास्थ्य सेवा प्रदान गरिएको थियो । शिविरमा बालरोग विशेषज्ञ डा. राजेन्द्र शिल्पकार, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. नितिन केयलसहित ८ जना चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी थिए ।

शिविरमा सामान्य चिकित्सा, स्त्रीरोग, शल्यचिकित्सा, हाडजोर्नी, बालरोग, मधुमेह, रक्तचाप, हर्निया, हाइड्रोसिल, पाइल्स, पत्थरी लगायतका रोगको जाँच तथा उपचार सेवा प्रदान गरिएको अस्पतालका  संस्थापक अध्यक्ष कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । 

620 people benefited from free health camps

स्वास्थ्य सेवा लिन आएका बिरामीमध्ये त्रिपुरासुन्दरी गाउँपालिका–३ की ७३ वर्षीया सन्तोषी थामीले शिविरबाट स्वास्थ्य परीक्षणपछि नि:शुल्क औषधि पाएपछि हर्षित भएको बताइन् । उनीझैं बाह्रबिसे–६ का ८१ वर्षीय नन्दलाल श्रेष्ठ र बाह्रबिसे–४ का ८५ वर्षीय पदमबहादुर मगर जस्ता जेष्ठ नागरिकको उल्लेख्य सहभागिता देखिएको थियो । 

शिविरमा नेपाल टेलिमेडिसिन सोसाइटी, त्रिपुरेश्वरको समन्वयमा टेलिमेडिसिन सेवासमेत उपलब्ध गराइएको थियो । आयोजक संस्थाका अनुसार स्थानीयस्तरमा नियमित स्वास्थ्य सेवा अभावलाई मध्यनजर गर्दै यस्ता शिविरको निरन्तरता दिइने छ ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully