एकै ठाउँ १७ सय १७ जनाले गरे रक्तदान

जेष्ठ ३१, २०८२

रमेशकुमार पौडेल

1717 people donated blood at one place

चितवन — भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा बेला बेलामा व्यापारिक मेला महोत्सव र अन्य कार्यक्रम हुँदै आएका छन् । शनिबार पनि त्यहाँ बिहानैदेखि चहलपहल थियो ।

तर व्यापारिक मेला महोत्सव र अन्य कार्यक्रम नभएर रक्तदान महोत्सव आयोजना भएको थियो । जहाँ कोही नियमित रगत दिँदै आएका व्यक्तिहरू सामेल भए । कोही उमेर अलि धेरै भए पनि पहिलो पटक रक्तदान गर्दै थिए । सबैले गरेर एक हजार सात सय १७ जनाले रक्तदान गरेको आयोजकले जानकारी दिएका छन् । 

भरतपुर महानगरपालिका–१० कि मधुकला वाग्ले ५७ वर्षकी भइन् । उनी पहिलो पटक रक्तदानमा सरिक भइन् । त्यसैगरी माडीका ४९ वर्षीय भानु पोखरेलले पनि अहिलेसम्म रक्तदान गर्न पाएका थिएनन् । उनले पनि रक्तदान महोत्सवमा पुगेर पहिलो पटक रक्तदान गरे । ‘रक्तदान हुने गरेको धेरै पटक सुन्दै आएको हो । रक्तदान जीवनदान नै भन्छन् । तर दिन पाएकी थिइनन् । आज यो अवसर प्राप्त भयो,’ मधुकलालले भनिन् ।

जुन १४ मा अन्तर्राष्ट्रिय रक्तदाता दिवस पर्दछ । यही दिन ब्लड डोनर्स् सोसाइटी चितवन शाखाले उक्त महोत्सव आयोजना गरेको हो । ‘उपचारका क्रममा रगत आवश्यक पर्दा अभाव हुने गरेको छ । तर रक्तदान गर्न मिल्ने धेरैले रक्तदान गरेको पाइँदैन । रक्तदान प्रति अग्रसर हुने सन्देश दिन यो वृहत् कार्यक्रम आयोजना गरेका हौँ,’ सोसाइटीका चितवन अध्यक्ष तथा मूल समारोह समितिका कार्यक्रम संयोजक एकराज बुर्लाकोटीले भने ।

आयोजकहरूले एक हजार पाँच सय पिन्ट (पोका) रगत संकलन गर्ने लक्ष्य राखेका थिए । जुन सजिलै पार भयो । ‘हामीले अपेक्षा गरेकोभन्दा पनि धेरै १७ सय १७ जनाले रक्तदान गरे,’ सोसाइटीका सचिव तथा प्रचार समितिका संयोजक विपिन पाठकले भने । यसका साथै एक हजार जना नयाँ रक्तदाता तयार गर्ने र उनीहरूलाई नियमित रक्तदानमा सरिक बनाउने योजना आयोजकहरूले राखेका थिए । युवा रक्तदाता व्यापक सहभागी भएको पाठकले बताए । विभिन्न समितिहरू बनाएर काम गरेका कारण यो लक्ष्यमा पुग्नसकेको अध्यक्ष बुर्लाकोटी बताउँछन् । 

चितवनका सातै पालिकाका सबै ९८ वडामा रहेका टोल विकास समितिसँग समन्वय गरेर कार्यक्रम गरेका कारण र सोही अनुसार प्रचारप्रसार र रक्तदान बारेमा भ्रमहरुलाई मेटाउने प्रयास गरेको हुँदा सहभागीहरू धेरै आएको बुर्लाकोटीले बताए । सोसाइटीका सल्लाहकार रहेका चिकित्सक डा. भोजराज अधिकारीले १८ देखि ६५ वर्ष उमेरका व्यक्तिहरू रक्तदानका लागि सक्षम हुने बताए । उमेर भएपनि केही अवस्थामा रक्तदान गर्न मिल्दैन । 

‘संक्रामक रोग रहेको र त्यसको दबाइ खाइरहेकाहरूले दिन भएन । गर्भवती महिला, रजस्वला भएको सात दिन भएका, शल्यक्रिया गरेको तीन महिना नभएको या तीन महिनापछि शल्यक्रिया गर्न योजनामा रहेका बाहेक अन्य स्वस्थ व्यक्तिले रक्तदान गर्न मिल्छ,’ डा.अधिकारीले भने । सामाजिक सञ्जाल या अन्य माध्यमबाट यस्ता विषयमा लगातारजसो प्रचारप्रसार गरेका कारण भ्रम हटेको भन्दै धेरैजना रक्तदान गर्न आएको उनले बताए ।

नेपाल रेडक्रस सोसाइटीको भरतपुरमा रहेको क्षेत्रीय रक्तसञ्चार केन्द्र (ब्लड बैंक)को  प्राविधिक सहयोग र  परामर्शका आधारमा महोत्सवको गरेको अध्यक्ष बुर्लाकोटीले बताए । भरतपुर र चितवन बाहिरका अस्पताल समेतमा खपत हुने सम्भावनालाई ख्याल राखेर नै एकै दिन १५ सयजनाबाट रगत संकलन गर्ने वृहत् कार्यक्रम तय गरेको भरतपुरको ब्लड बैंक प्रमुख रमेशकान्त पौडेलले बताए ।

‘दुई हजार पिन्ट ब्लड भण्डारण गर्ने क्षमता हामीसँग छ । जनशक्ति र उपकरण पनि छन् । र, यस क्षेत्रका अस्पतालहरूमा रगतको माग पनि छ । त्यसैले १५ सय पिन्ट संकलन गर्ने योजना बनेको हो,’ पौडेलले भने । ‘कलेजहरूबाट नयाँ रक्तदाता आएका छन् । अब उनीहरूलाई नियमित रक्तदानमा सहभागी गराउन सके आवश्यक पर्दा रगत सहजै पाइने वातावरण तयार हुने देखिन्छ,’ सचिव विपिन पाठकले भने । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully