हेटौंडा — सुनका गहना चोरी गरेको आरोपमा मकवानपुर प्रहरीले हेटौंडा उपमहागनरपालिका–१८, रामधुनीका तीन जना युवकलाई पक्राउ गरेको छ ।
हेटौंडा–१८, रामधुनीकी ३० वर्षीया उषा परियारले घरबाट सुनको तिलहरी चोरी भएको भनी प्रहरीमा उजुरी दर्ता गराएकी थिइन् ।
पीडितको उजुरी प्राप्त भएपछि प्रहरीले अनुसन्धान तथा खोजतलास गर्ने क्रममा हेटौंडा–१८ स्थित प्रहरी चौकी ठूलोदमारबाट खटिएको प्रहरी टोलीले सुन चोरीमा संलग्न भएको आरोपमा २४ वर्षीय उपेन्द्रबहादुर विश्वकर्मा, ३० वर्षीय सञ्जिव गोतामे र हेटौंडा–४ का २५ वर्षीय सन्तबहादुर बराइलीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट चोरी भएको सुनको तिलहरी बरामद गरेको जनाएको छ । मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिएर तीनैजनालाई हिरासतमै राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
