बनेपाका ग्यारेज पिच्छे भेटिन्छन् बालश्रमिक 

जेष्ठ ३०, २०८२

ज्योती श्रेष्ठ

Child labor is found behind Banepa's garage

काभ्रे — काभ्रेको बनेपा नगरपालिका क्षेत्रभित्र रहेका ग्यारेजमा बालश्रमिक भेटिएका छन्। नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले गरेको वडा नं ७, ८, ९ र १० को विभिन्न स्थानमा सञ्चालित होटल, ग्यारेज, अटो वर्कसप उद्योगलगायत क्षेत्रमा बाल श्रमिकको प्रयोग गरिएको पाइएको जनाएको छ।

नगरपालिकाले बिहीबार विश्व बालश्रमविरुद्धको दिवसको अवसरमा नगरपालिकाको वडा नं ८ र १० मा रहेका ग्यारेज र अटो वर्कसपमा अनुगमन गरेको थियो। त्यसक्रममा ५ जना बालश्रमिक भेटिएका हुन्। अनुगमनमा भेटिएका ४ जना भारतीय र १ जना नेपाली बालबालिका १४ देखि १६ वर्ष उमेर समूहका रहेको नगरपालिकाको महिला तथा बालबालिका शाखाले जनाएको छ । 

बनेपाले बालश्रम न्यूनीकरणका लागि नगर क्षेत्रमा अनुगमन गरिरहेको छ । गत असारमा नगरभित्रका ग्यारेज तथा टायर रिसोलिङ क्षेत्रमा गरेको अनुगमनमा १८ भारतीय बालबालिका श्रमिक रहेको पाइएको बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी अधिकृत विजया सुवेदीले बताइन् ।

अनुगमनको क्रममा भेटिएका अधिकांश बालबालिका भारतीय रहेको र उनीहरू ग्यारेज तथा अटो वर्कसपमा काम गर्दै गरेको अवस्थामा भेटिएको बनेपा नगरपालिकाकी उप–प्रमुख विमला सापकोटा दाहालले बताइन् । उनका अनुसार यी क्षेत्रबाट आएका बालबालिका बाध्यात्मक श्रममा भएको पाइएको छ ।

‘कोही पढ्दै नपढेको, कोही बिचमै पढाइ छाडेर काम गर्न आउनेहरू धेरै भेटिए,’ उनले भनिन्, ‘केही त बिनापारश्रमिक नै काममा खटिएको अनुगमनको क्रममा देखिएको, भारतीय बाल श्रमिकलाई बोर्डरसम्म पुर्‍याउनका लागि नगरपालिकाले सहजीकरण गर्ने योजना बनाएका छौँ, तर उनीहरूको आफन्तसम्म पुग्न कठिनाइ भइरहेको छ ।’

नगर क्षेत्रमा भेटिएका बाल श्रमिकलाई हटाउनका लागि सम्बन्धित व्यवसायीलाई निर्देशन दिइएको उनले बताइन् । उनका अनुसार, बालश्रम अन्त्यका लागि वडा र नगरस्तरमा बाल सञ्जाल गठन, स्थलगत अनुगमन, चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully