पहाड उक्लिँदै पीच बाटो

जेष्ठ २८, २०८२

रमेशकुमार पौडेल

Peach road going up the hill

चितवन — सदरमुकाम भरतपुर र अन्य बजार क्षेत्रमा फराकिलो कालोपत्रे सडक बनाउने प्रतिस्पर्धा छ । तर चितवनको पहाडी भेग यस्ता छन् जहाँ सडक कालोपत्रे हुन बल्ल सुरु हुँदैछ । पहाडमा पर्ने साविकको सिद्धी गाउँ विकास समिति हाल कालिका नगरपालिकाको १० र ११ नम्बर वडामा समेटिएको छ । नगरपालिका भए पनि पीच बाटो नआइ मरिन्छ कि भन्ने पिरलोमा रहेकी ७६ वर्षीया फूलमाया चेपाङ अचेल खुसी देखिन्छिन्।

कालिका–११ सिद्धि क्राइलिङकी फूलमायाको घर मुल सडकको आडमै छ । त्यो बाटो फराकिलो भएको अल्ली वर्ष भयो । अब कालोपत्रे छिट्टै हुन्छ भन्ने सुन्दै आएको पनि तीन वर्ष नाघ्यो । वडा कार्यालय भवनबाट नजिकै छ उनको घर । कम्तिमा वडा कार्यालयलाई नगरको कालोपत्रे सडक सञ्जालसँग जोड्ने योजना अनुसार गएको बिहिबारबाट पीच सुरु भएको छ । त्यसैले फूलमायाको घर आडको बाटो पीच हुने पक्का भएको छ ।

क्राइलिङमा फूलमायाको परिवार आएर बसेको ६ सात वर्ष भयो । त्यसअघि सिद्धिको मजबाङमा बसोबास थियो । पहाडी गाउँ मजबाङमा मोटर बाटो पुग्ने सुरसार थिएन । क्राइलिङमा बाटो खन्न सुरु भएपछि सुबिस्ता हुने देखेर उनीहरु झरे । मझवाङ र क्राइलिङको दुरी त्यत्ति टाढा पनि छैन । खोला आडमा क्राइलिङ र खोलादेखि माथि बढीमा आधा घण्टा पैदल हिँडेर पुगिने डाँडामा मझबाङ गाउँ छ ।

सिद्धि गाउँ अति सिमान्तकृत वर्गमा पर्ने नेपालका आदिवासी चेपाङ समुदायको बसोबास भएको ठाउँ हो । वडा नम्बर १० मा केही मात्रामा तमाङ समुदायको पनि बसोबास छ । तर कडा नम्बर ११ मा लगभग चेपाङहरुको मात्रै बसोबास भएको वडाध्यक्ष कृष्णबहादुर प्रजा चेपाङले जानकारी दिए । चेपाङ बहुल यो गाउँमा इतिहासमै पहिलो पटक गत वर्ष लगभग सय मिटर जति मात्रै सडक कालोपत्रे भएको थियो ।

विस २०७४ सालको स्थानीय निर्वाचनमा वडा नम्बर ११ मा सदस्यमा निर्वाचित ५० वर्षीया निरमाया चेपाङ बाटो राम्रो नहुँदाको दुख पिडा बयान गरि साध्य थिएन भन्छिन् । सिद्धि खोलागाउँ घर भएकी निरमाया नगरपालिका कार्यालय जुटपानी जान पनि दुई तीन घण्टा लाग्ने गरेको बताउँछिन्। ‘अझ वर्खामा खोला बढ्यो भने त सबै ठप्प हुन्थ्यो । हामी बाटो, पुल जस्ता आधारभूत सुविधाबाट बञ्चित थियौं’ उनले भनिन् ।

Peach road going up the hillकालिका नगरपालिका–११ मा पर्ने पहाडी गाउँ सिद्धिमा वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्रे गर्ने तयारी हुँदै । तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर ।

अहिले शक्तिखोर हुँदै सिद्धि जाने खहरे खोलाहरुमा फराकिलो पुल तयार भएका कारणले आउजाउ गर्न सकस हुँदैन । बाटो पनि पीच हुँदै आएका कारणले पहाडी गाउँमा पनि सुविधा थपियो भन्छिन निरमाया । शक्तिखोरबाट सात किलो मिटर पुर्व पर्ने सिद्धिको तीनदोभानसम्म २०६३ सालबाट जेनतेन जीप र पीकअप भ्यान चल्न सुरु भएको हो । भुकम्पपछि २०७३ सालसँगै बाटो फराकिलो हुन सुरु भयो ।

‘अघिल्लो वर्ष वडा नम्बर १० मा पर्ने सिद्धि तीन दोभानसम्म लगभग सात किलो मिटर सडक कालोपत्रे भएको थियो । त्यो बेला वडा नम्बर ११ को सय मिटर जति सडक कालोपत्रे भयो । अहिले वडा नम्बर ११ को कार्यालयसम्म लगभग तीन किलो मिटर सडक कालोपत्रे पुरा हुन्छ,’ कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले भने । असार २५ भित्रै सक्ने गरेर काम धमाधम अगाडी बढेको मेयर रेग्मीले बताए ।

मुल्य अभिवृद्धि करसमेत गरेर दुई करोड ८८ लाख ९८ हजार रुपैयाँमा नगरपालिकाले यो सडक कालोपत्रे गर्न लागेको हो । ‘नालासहितको सडक बनेको छ । पहाडी भेग भएका कारणले बर्खामा कालोपत्रे टिक्न नसक्ने मोडहरुमा कंक्रिटको ढलान पनि भएको छ’ मेयर रेग्मीले भने । यो काम सम्पन्न भएपछि शक्तिखोरदेखि पुर्वी उत्तर दिशामा रहेका कालिका–१० र ११ नम्बर वडाका वडा कार्यालयसम्म बल्ल कालोपत्रे सडक पुग्ने छ ।

वडा कार्यालय कालोपत्रे सडकसँग जोडिए पनि सिद्धिको अन्य भेगमा बाटोको अवस्था नाजुक नै छ । ठाउँ ठाउँमा बाटो पुगे पनि कालोपत्रे हुन बल्ल सुरु भएको वडा नम्बर ११ का वडाध्यक्ष कृष्णबहादुर प्रजा चेपाङले बताए । ‘गाउँमा बाटो पुगेका छन् । वडा कार्यालयसम्म कालोपत्रे भएपछि अब हामी गाउँका अन्य सडकलाई सवल बनाउने छौं । प्रदेश र संघ सरकारले पनि हाम्रो समस्यामा सहयोग गरोस’ उनले अपिल गरे ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully